भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीलाई सुवेदीकाे प्रश्नः खाने आफू दोष चाहीँ कर्मचारीलाई ?


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गम्भीर भ्रष्टाचार भइरहेको आरोप लगाउँदै गृहमन्त्री रमेश लेखकको सचिवालयको प्रत्यक्ष संलग्नता रहेको दाबी गरेका छन्।

बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद सुवेदीले भिजिट भिसा सेटिङको नाममा मानव तस्करीजस्तो अपराध भइरहेको भन्दै सरकारको चर्को आलोचना गरे। उनले भने, “भुटानी शरणार्थी प्रकरणले देशको शीर निहुँराएको छ महिना नहुँदै फेरि भिजिट भिसा सेटिङ प्रकरणले थप शीर निहुराएको छ।”

उनले राजनीतिक संरक्षण बिना यस्तो कार्य सम्भव नहुने उल्लेख गर्दै गृहमन्त्रीले आफू उम्कन खोज्दै कर्मचारीलाई दोष लगाउने प्रयास गरिरहेको आरोप लगाए। “बेरोजगार नागरिक बेचेर पैसा असुल्ने कस्तो देश बनायौं हामीले ?” भन्दै उनले सरकारको नैतिकतामाथि प्रश्न उठाए।

सुवेदीका अनुसार त्रिभुवन विमानस्थलमा दिनमै ५० लाख रुपैयाँसम्म असुली हुने गरेको चर्चासमेत छ। उनले गृहमन्त्री रमेश लेखकमाथि सीधा आरोप लगाउँदै भने, “भाषण अर्कै गर्ने, आचरण अर्कै देखिने गृहमन्त्रीबाट निष्पक्ष अनुसन्धान अपेक्षित छैन।”

उनले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै गृहमन्त्रीको राजीनामा आवश्यक रहेको बताए। सोही मागसहित प्रतिपक्षी दलहरुले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन्। भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करी र भ्रष्टाचारमाथि सत्यतथ्य छानबिनका लागि राजनीतिक सरोकार र दबाब चुलिँदै गएको छ।