नेपालीले परिपक्व उमेरमा विवाह गर्न थाले


काठमाडाैँ । नेपालमा विवाह गर्ने उमेरमा परिवर्तन भएको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको नेपालमा वैवाहिक स्थिति, धर्महरू र किशोर किशोरी तथा युवाको अवस्थाबारे विषयगत प्रतिवेदनहरूले यस्तो देखाएको हो ।

पुरुष तथा महिलाले परिपक्व उमेरमा विवाह गर्ने गरेको र यो परिवर्तन बालविवाहको अवस्था, प्रजनन र पहिलो विवाहको उमेरमा विद्यमान रहेको छ । नेपालको जनगणना २०७८ को तथ्याङ्कअनुसार वि.सं. २०१८ र २०७८ बिचको समयावधिमा कहिल्यै विवाह नगरेका पुरुष र महिलाहरूको अनुपात क्रमशः १० र १३ प्रतिशत विन्दुले वृद्धि भएको कार्यालयका निर्देशक विनोदशरण आचार्यले बताए ।

उनले २०१८ को अविवाहित पुरुषको अंश २८ प्रतिशत रहेकोमा २०७८ मा ३८ प्रतिशत पुगेको छ छ भने सो अवधिमा अविवाहित महिलाको अंश १५ प्रतिशतबाट बढेर २८ प्रतिशतमा पुगेको जानकारी गराए ।

यस्तै, पछिल्लो ६० वर्षमा विवाहित पुरुष र महिलाको अनुपात क्रमशः करिव ६ र ५ प्रतिशत विन्दुले घटेको छ । विवाहित पुरुष र महिलाको अनुपातमा देखिएको सो गिरावट सोही अवधिमा देखिएको अविवाहित पुरुष तथा महिलाको अनुपातमा भएको वृद्धिसँग समानुपातिक नदेखिएको निर्देशक आचार्यले बताए ।

उनले सहरी क्षेत्रको तुलनामा ग्रामीण र अर्धसहरी क्षेत्रमा विवाहित पुरुष तथा महिलाको अनुपात बढेको देखिएको छ । यस्तै, सहरी क्षेत्रमा अविवाहित पुरुष तथा महिलाको अनुपात ग्रामीण र अर्धसहरी क्षेत्र भन्दा बढी देखिएको उनले बताए ।  

२०७८ को जनगणनाअनुसार नेपालमा हिन्दु धर्म मान्नेहरू कुल जनसङ्ख्याको ८१ दशमलव २ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

सङ्ख्याका आधारमा बौद्ध धर्म मान्नेहरू ८ दशमलव २५ प्रतिशतसहित दोस्रो नम्बरमा छन् भने इस्लाम धर्म मान्नेहरू ५ दशमलव १५ प्रतिशतसहित तेस्रो नम्बरमा छन् ।

यस्तै, नेपालमा ३ दशमलव २ प्रतिशत जनसङ्ख्याले किराँत धर्म, १ दशमलव ८ प्रतिशतले इसाई र ० दशमलव ३ प्रतिशतले प्रकृति धर्म मान्ने गरेको कार्यालयका निर्देशक आचार्यले बताए ।

उनले २०४८ देखि २०७८ को जनगणना अवधिमा हिन्दु धर्म मान्ने जनसङ्ख्याको प्रतिशतमा गिरावट आएको उल्लेख गरे । तर २०५८ को तुलनामा २०६८ को जनगणनाका बिचमा थोरै वृद्धि भएको देखिएको छ ।  

कार्यालयकाअनुसार नेपालको जनसङ्ख्याको २० दशमलव १ प्रतिशत दशदेखि १९ वर्ष उमेर समूह, १९ दशमलव ७ प्रतिशत १५ देखि २४ वर्ष उमेर समूहका किशोर किशोरीहरू रहेका छन् ।

नेपालमा किशोर–किशोरी जनसङ्ख्या २०१८ मा १८ लाख ७० हजार रहे पनि २०६८ मा ६४ लाख १० हजार पुगेको थियो । तर २०७८ को जनगणना अनुसार यो सङ्ख्या घटेर ५८ लाख ८० हजारमा सीमित भएको छ ।

किशोर–किशोरीको जनसङ्ख्या युवाको तुलनामा केही बढी रहेको देखिए पनि अघिल्लो दशकमा आएको गिरावटका कारण भविष्यमा युवाहरूको जनसङ्ख्या पनि घट्दै जाने देखिएको कार्यालयले जनाएको छ ।  

राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी मधुसुदन बुर्लाकोटीले जनसङ्ख्याको बनावट विस्तारै घट्दो गतिमा जान लागेको भन्दै चिन्ता व्यक्त गरे ।

उनले १५ देखि २४ वर्षका युवाहरूको ध्यान विदेशमा बसाइसराइ र पढ्न जाने ट्रेन्ड देखिएको बताए । उनले विदेशबाट युवाहरूको फर्काइ पनि विस्तारै खोज्नुपर्ने अवस्था आएको जिकिर गरे ।

युवाहरूको जनसङ्ख्या घट्नु तथा काम गर्ने उमेर समूहका युवाहरू घट्नु क्रियाशील उमेर घट्नु रहेको बताउँदै यसले उत्पादन घटाउने बताए ।

उत्पादन घट्दा देशको अर्थतन्त्रमा फरक पार्ने बताउँदै यसले उमेरको हद विस्तारै ओरालो लाग्ने धारणा राखे । अब पनि केही नगर्ने हो भने पछि परिने जिकिर छ ।

उनले भने, “विशेष गरी १५–२४ का बच्चाहरूको ध्यान कता गएको छ ? देशतिर छ कि देश बाहिर छ ? यो तथ्याङ्कले केही न केही देखाउँछ । १५–२४ का युवाहरूको जुन इन्टरनेशनल माइग्रेसन छ, बाहिर पढ्न जाने ट्रेन्ड छ, यसले देखाउँछ । हाम्रो युवाहरूको फर्काइ पनि विस्तारै खोज्नुपर्ने अवस्था आएको छ । हाम्रो जनसङ्ख्याको बनोट विस्तारै घट्दो गतिमा जान लागेको छ । युवाहरूको जनसङ्ख्या घट्नु, काम गर्ने उमेर समूहका युवाहरू घट्नु भनेको क्रियाशील उमेर घट्नु हो । त्यसले उत्पादन घटाउँछ  । उत्पादन घट्दा देशको अर्थतन्त्रमा फरक पार्छ र हाम्रो उमेरको हद विस्तारै ओरालो लाग्दछ । यसले हामीलाई छिटो विकास गर, गरेनौँ भने पछि पर्छौ भनेर घचघचाइरहेको छ ।”

राष्ट्रिय जनगणना २०७८ अनुसार १७ प्रतिशतले आन्तरिक र अन्तर्राष्ट्रिय बसाईंसराइ गरेको देखिएको तथ्याङ्क कार्यालयले जनाएको छ ।