काठमाडाैँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग नेपाल भ्रमणमा रहेको चीनको सिजाङ प्रदेश सरकारका कार्यकारी उपाध्यक्ष डन वा नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ।
सिंहदरबारस्थित मन्त्रालयमा सम्पन्न भेटमा मन्त्री अधिकारीले नेपाल र चीनबिच विगतदेखि नै कृषि क्षेत्रमा सहकार्य रहँदै आएको उल्लेख गर्दै आगामी दिनमा चीनको सहयोग थप अभिवृद्धि हुने अपेक्षा व्यक्त गरेका हुन् ।
उनले विशेषगरी नेपालबाट चीनतर्फ निर्यात गर्न सकिने वस्तुहरू जस्तै चिया, नेपाली जडीबुटी र राँगोको मासु-चिनियाँ भन्सार प्रक्रियामा अगाडि बढिरहेको जानकारी दिँदै यसका लागि चीन सरकारलाई धन्यवाद ज्ञापन गरे ।
मन्त्री अधिकारीले हाल पाँचवटा कम्पनी जडीबुटी निर्यात प्रक्रियामा दर्ता भइसकेको उल्लेख गर्दै थप सहजीकरणका लागि उपाध्यक्ष डन वा समक्ष सहयोगको आग्रह गरे ।
साथै, सन् २०१९ मा हस्ताक्षर भएको सुन्तला जातका फलफूलको निर्यातसम्बन्धी सम्झौता र २०२२ को घाँस निर्यातसम्बन्धी सम्झौता कार्यान्वयनका लागि आवश्यक पूर्वाधार तथा प्राविधिक सहायता उपलब्ध गराउन पनि चिनियाँ पक्षसँग आग्रह गरे ।
भेटमा उपाध्यक्ष डन वा ले नेपालको चिया, जडीबुटी लगायतका उत्पादनप्रति चीनभर माग रहेको उल्लेख गर्दै चीनतर्फ निर्यातमा आफूले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले सुन्तला जातका फलफूल निर्यातका लागि उपयुक्त भण्डारण केन्द्र आवश्यक पर्ने बताएर यसमा सहयोग गर्न चीन तयार रहेको जनाए । साथै, नेपाली व्यवसायीहरूलाई सिजाङमा आयोजना हुने व्यापारिक प्रदर्शनीमा सहभागी हुन आग्रह गर्दै यस्तो सहभागिताबाट नेपाली उत्पादनलाई चिनियाँ बजारमा प्रवेश गराउन सहज हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्