भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, यो म माथिको नियोजित आक्रमण होः गृहमन्त्री लेखक


काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा तथा रकम असुली प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्न नपाएपछि बुधवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको विषयलाई लिएर मन्त्रीको पनि संलग्नता भन्ने प्रचार, समाचार र सामाजिक सञ्जालमा विचारहरू अभिव्यक्त भएको बताउँदै उक्त विषयमा आफ्नो कुनै संलग्नता नरहेको बताएका हुन् ।

उनले आफूलाई संलग्नता देखाएर सार्वजनिक भएका समाचार र सामाजिक सञ्जालमार्फत अभिव्यक्त धारणाहरू असत्य र बेठीक भएको दाबी गरे । उनले आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्ण ढङ्गले आक्रमण गरिएको जिकिर गरे । गृहमन्त्री लेखकले आफूमाथिको आक्रमण राजनीति पूर्वाग्रहले प्रेरित भएको जिकिर गरे ।उनले आफूमाथिको आक्रमण षड्यन्त्र मुलुक रहेको र यसको क्रम जारी छ भन्ने अनुभूति गरेको समेत बताए ।

भिजिट भिसामा विदेश जानेहरूसँग लाखौँ असुली गरेको प्रकरणमा गृहमन्त्री लेखकले आरोप खेपेका छन् । उनले मङ्गलवार र बुधवारको प्रतिनिधिसभाको बैठकमा आफ्ना भनाइ राख्ने तयारी गरे पनि विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि संसद् अवरुद्ध हुँदै आएको छ । विपक्षी दलहरूले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने माग राखेका छन् ।