कम्पनी प्रशासन पूर्ण रूपमा डिजिटल, अब दर्तादेखि खारेजीसम्म सबै प्रक्रिया अनलाइन


काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनी प्रशासनसम्बन्धी सम्पूर्ण काम डिजिटल प्रणालीमार्फत सञ्चालन गर्न थालेको छ। कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली (क्यामिस) का सबै मोड्युलहरू २०८१ फागुन ११ गतेदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको हाे।

कम्पनी प्रशासनसम्बन्धी सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउनका लागि सुरू गरिएको यो प्रणालीले अब निजी क्षेत्रको उद्योग, व्यापार र व्यवसायमा लगानी प्रवर्धन गर्न सघाउने सरकारको विश्वास छ। यसअन्तर्गत कम्पनी दर्तादेखि खारेजीसम्मका सम्पूर्ण प्रक्रिया अब अनलाइनबाटै गर्न सकिनेछ।

क्यामिस प्रणालीका विशेषताहरू उल्लेखनीय छन्। प्रमुख विशेषता अनुसार, अब सेवा लिन कम्पनीको रजिष्ट्रार कार्यालयमा भौतिक रूपमा उपस्थित हुन आवश्यक छैन। सेवा लिने कम्पनीहरूले अनलाइन प्रणालीबाट नै आवेदन दिन सक्नेछन् भने प्राप्त आवेदनहरू ‘राउण्ड रोबिन’ विधिबाट सम्बन्धित कर्मचारीको डेस्कमा स्वचालित रूपमा तोकिने छन्।

नाम स्वीकृति र कम्पनी दर्ताका निवेदनहरू एकै तहबाट टुंग्याइने व्यवस्था गरिएको छ। शेयरधनी वा सञ्चालककाे शारीरिक उपस्थिति आवश्यक पर्ने केही आवेदन बाहेक, अन्य सबै प्रक्रिया डिजिटल हस्ताक्षरसहित अनलाइन प्रणालीमार्फत नै टुंग्याइनेछ। साथै, आवेदन पेस भएपछि त्यसको स्थितिबारे जानकारी पनि सम्बन्धित कम्पनीलाई अनलाइनमार्फतै दिइने छ।

क्यामिस प्रणालीमा पुरानो प्रणालीबाट प्राप्त सबै निवेदन र कागजातहरू पनि हेर्न मिल्ने व्यवस्था गरिएको छ। यस प्रणालीले राष्ट्रिय परिचयपत्र प्रणाली, आन्तरिक राजस्व विभागको कर प्रणाली, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था लगायत अन्य सरकारी निकायका प्रणालीहरूसँग आपसी अन्तरसंयोजनको व्यवस्था गर्दै लगिएको छ।

हालसम्म देशभर ३ लाख ६० हजार २१३ कम्पनीहरू दर्ता भइसकेका छन्। तीमध्ये २ हजार ३१४ सार्वजनिक कम्पनी, ३ लाख ४७ हजार २२९ निजी कम्पनी, ४ हजार ५११ विदेशी लगानी भएका कम्पनी तथा ६ हजार १५९ मुनाफा वितरण नगर्ने कम्पनी रहेका छन्।

डिजिटल प्रणालीको पूर्ण कार्यान्वयनले कम्पनी प्रशासनमा पारदर्शिता, उत्तरदायित्व र कार्यसम्पादनमा तीव्रता ल्याउने विश्वास व्यक्त गरिएको छ।