सार्वजनिक संस्थानकाे खुद नाफा करिब १३ प्रतिशतले घट्याे, नोक्सानीमा रहेका संस्थानहरूको खुद नोक्सानी ८.६५ प्रतिशतले बढ्याे


काठमाडाैँ । सार्वजनिक संस्थानहरूकाे खुद नाफा करिब १३ प्रतिशतले घटेकाे छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पाैडेलले सदनमा सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२ पेस गर्दै सार्वजनिक संस्थानकाे खुद नाफा १२.८८ प्रतिशतले कम भएकाे बताएका हुन् ।

आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको खुद नाफा ४२ अर्ब ६२ करोड रूपैयाँ पुगेको छ ।

नेपालमा हाल विभिन्न औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनोपयोगी र वित्तीय क्षेत्रमा गरी ४५ वटा सार्वजनिक संस्थान सञ्चालनमा रहेका छन्।

जसमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका र २५ वटामा सरकारको अधिकांश स्वामित्व रहेका छन्।

सञ्चालनमा रहेका संस्थानमध्ये २८ वटा नाफामा, १५ वटा घाटामा र २ वटा बन्द अवस्थामा रहेका छन्।

नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानी ३ अर्ब ६३ करोड रूपैयाँ रहेको छ। नाफामा रहेका संस्थानहरूको खुद नाफा गत आर्थिक वर्षको तुलनामा ११.५० प्रतिशतले घटेको छ भने नोक्सानीमा रहेका संस्थानहरूको खुद नोक्सानी गत वर्षको तुलनामा ८.६५ प्रतिशतले बढेको छ।

आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको कुल सम्पत्ति गत आर्थिक वर्ष भन्दा २.२० प्रतिशतले बढेर २९ खर्व १० अर्ब १७ करोड रूपैयाँ पुगेको छ।

सरकारले सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी २०८१ फागुसम्म ५.८६ प्रतिशतले वृद्धि भई ७ खर्ब ३ अर्ब ९३ करोड रूपैयाँ पुगेको छ। जसमा सेयर लगानी ३ खर्ब ६४ अर्ब ८६ करोड रूपैयाँ र ऋण लगानी ३ खर्ब ३९ अर्ब ७ करोड रूपैयाँ रहेको छ।

आर्थिक वर्ष २०८०/८१ मा संस्थानको कुल सञ्चालन आय ६ खर्ब ६० अर्ब १५ करोड रूपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ०.२२ प्रतिशतले कम हो। कुल गार्हस्थ्य उत्पादनमा सञ्चालन आयको अनुपात ११.५७ प्रतिशत रहेको छ।

सार्वजनिक संस्थानबाट नेपाल सरकारलाइ आर्थिक वर्ष २०७९/८0 मा १३ अर्ब ७५ करोड लाभांश प्राप्त भएकोमा आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ८३ करोड रूपैयाँ प्राप्त गरेकाे छ ।

कुल सेयर लगानीको तुलनामा लाभांश अनुपात विश्लेषण गर्दा आर्थिक वर्ष २०८०/८१ मा २.४ प्रतिशतमात्र रहेको छ।