बजेट वक्तव्य बोक्ने ‘वर्षमान’ झोला,यसपटक अर्थमन्त्री पौडेलले पनि दिए निरन्तरता


काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्य पुस्तिका बोक्न अल्लो र ढाकाको झोलालाई निरन्तरता दिएका छन् ।

वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदा ‘ब्रिफकेस’लाई विस्थापित गर्दै अल्लो र ढाकाको झोला पहिलोपटक प्रयोगमा ल्याएका थिए ।

प्रत्येक वर्ष अर्थमन्त्रीले संसद्मा वाचन गर्ने नयाँ आर्थिक वर्षको बजेट वक्तव्य राख्न प्रयोग गरिने विदेशी ‘ब्रिफकेस’ लाई विस्थापित गर्दै तत्कालीन अर्थमन्त्री पुनले स्वदेशी उत्पादनको झोलाले प्रतिस्थापन गराएका थिए ।

गत आर्थिक वर्ष अर्थमन्त्री पुनले नयाँ बजेट अनुमोदन गराउन मन्त्रिपरिषद् बैठकमा सहभागी हुन जाने क्रममा बजेट वक्तव्य रहेको नेपाली झोला सार्वजनिक गरेपछि व्यापक चर्चा भएको थियो ।

यसपटक अर्थमन्त्री पौडेलले पनि सोही शैलीकाे झोलामा बजेट वक्तव्य राखेका छन् । वर्षमान पुनभन्दा पहिले दशकौंदेखि अर्थमन्त्रीहरूले विदेशी ब्रिफकेसमा बजेट वक्तव्य राखेर लैजाने र संसदमा वाचन गर्थे प्रचलन थियो ।

तत्कालीन अर्थमन्त्री पुनले स्वदेशी उत्पादनलाई प्रवर्धन गराउने भन्दै साङ्केतिक रूपमा अल्लो र ढाकाको मिश्रित झोला प्रयोग गरेकाे बताएका थिए । अर्थमन्त्री पौडेलले पनि सदनमा प्रस्तुत गर्ने बजेट पुस्तिका बोक्न पुनले प्रयाेग गरेकाे शैलीकै झोला प्रयोग गरेका हुन् ।