काठमाडौँ । सरकार आगामी वर्ष देशभरिका सबै प्रदेशमा श्रम मेला सञ्चालन गर्ने भएको छ । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो जानकारी दिएका हुन् ।
अर्थमन्त्री पौडेलका अनुसार श्रम मेलामार्फत रोजगारीका अवसर प्रवर्धन गर्ने र श्रमिक तथा रोजगारदाताबिचको समन्वयलाई अझ सुदृढ बनाइनेछ । साथै, निजी क्षेत्रका सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने र सबै नेपालीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने सरकारको लक्ष्य रहेको उनले बताए ।
सरकारले आगामी वर्षका लागि विभिन्न भत्ताका कार्यक्रमहरू सञ्चालन गर्न १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ । साथै, रोजगारीको पहुँचलाई सहज बनाउन ‘रोजगार पोर्टल’ सञ्चालनमा ल्याइने पनि बजेटमा उल्लेख छ ।
वैदेशिक रोजगारीमा गएका नेपाली महिलाको सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको छ । अर्थमन्त्री पौडेलले वैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा र सहजता सुनिश्चित गर्न आवश्यक कदम चालिने बताए । साथै, द्विपक्षीय श्रम सम्झौतामा पनि विविध सुधार र नयाँ सम्झौता गरिने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्