महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि २ अर्ब ८ करोड बजेट


सरकारले आगामी आर्थिक वर्षको लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि २ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ । 

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीवार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजित बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।

महिलामाथि हुने सबै विभेद र उत्पीडनको अन्त्य गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा समानताको हक सुनिश्चित गर्न प्रभावकारी कार्यक्रम सञ्चालन गरिने बताए । उनले बेवारिसे तथा अभिभावकविहीन बालबालिकाको संरक्षण, पारिवारिक पुनर्मिलन, सामाजिक पुनस्र्थापना र वैकल्पिक हेरचाहको व्यवस्था मिलाइने बताए ।

उनले बाल सुधार गृहको क्षमता विस्तार गरिने जानकारी दिए ।अर्थमन्त्री पौडेलले कुलतमा लागेका बालबालिकालाई असल मार्गमा ल्याउन मनोसामाजिक र वृद्धि परामर्श उपलब्ध गराइने जानकारी दिए । उनले बाल हेल्प लाइन सेवालाई नागरिक एप्ससँग आबद्ध गरिने बताउँदै ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्दै लगिने जिकिर गरे ।