सरकारले पहाडी तथा हिमाली क्षेत्रमा केबलकार सञ्चालनलाई प्रोत्साहन गर्ने


काठमाडौँ । सरकारले पहाडी तथा हिमाली क्षेत्रमा केबलकार सञ्चालनलाई प्रोत्साहन गर्ने भएको छ ।

आर्थिक वर्ष २०८२/८३ को बजेट आज सार्वजनिक गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पहाडी तथा हिमाली क्षेत्रमा केबलकार सञ्चालनलाई प्रोत्साहन गर्ने बताएका हुन् ।

पछिल्लो समय केबलकार निर्माणको क्रम बढिरहेका बेला सरकारले बजेटमार्फत नै प्रोत्साहन नीति ल्याएको हो ।

बजेटमा वीरेठाँटी-मुक्तिनाथ केबलकार निर्माण गर्न निजी क्षेत्रलाई सहजीकरण गरिने समेत उल्लेख छ । हाल ८ वटा केबलकार सञ्चालनमा छन् भने २५ अर्ब रुपैयाँ नजिक लगानी भइसकेको छ ।

निजी क्षेत्रले अझै २० भन्दा बढी केबलकार निर्माणका लागि अुनमति लिएर बसेका छन् र यसबाट १ खर्बभन्दा बढी लगानी हुने देखिन्छ ।

अहिले केबलकार पर्यटनपूर्वाधारका रूपमा विकास भइरहेको छ ।

पछिल्लो समय केबलकारलाई यातायात पूर्वाधारका रूपमा विकास गर्नुपर्ने आवाज समेत उठिरहेका बेला सकारले यसलाई प्रोत्साहन गर्न खोजेको देखिएको छ ।

बजेटमा केबलकारलाई ‘दिगो, गुणस्तरीय र सुरक्षित पूर्वाधार’ शिर्षक अन्तर्गत राखेको छ ।

बन्द अवस्थामा रहेको काठमाडौँ–हेटौडा रोपवेको विकल्पमा नवीन प्रविधिमा आधारित पोडवेको सम्भाव्यता अध्ययन गर्न समेत आवश्यक रकम छुट्याइएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।