बजेटबारे निजी क्षेत्रः अधिकांश सुझावहरू समेटिएका छन्, समग्रमा बजेट राम्रो छ


काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले दिएका सुझाव अधिकांश समेटिएको बताएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा पेश गरेकाे आर्थिक वर्ष २०८२/८३ बजेटबारे प्रतिक्रिया दिँदै अध्यक्ष ढकालले बजेटले निजी क्षेत्रको धेरै कुरा समेटेको बताएका हुन् ।

उनले अब आर्थिक ऐन आइसकेपछि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने महशुस गरेको स्पष्ट पारे। साथै बजेटले वैदेशिक लगानी प्रवद्र्धनलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको भन्दै यसले आयात निर्यातमा निजी क्षेत्रको संलग्नता बढ्ने विश्वास लिएको अध्यक्ष ढकालले बताए ।

नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले बजेटमा समेटिएका सबै कुरा राम्रो भएपनि राजश्व मुख्य चुनौति हुनसक्ने बताए । पूर्वअध्यक्ष मल्लले समग्रमा बजेट राम्रो आएको बताए । उनले बजेटले युवा पुस्तालाई पनि प्रोत्साहन दिन स्टार्टअप बिजनेसमा पाँच वर्षसम्म कर नलिने घोषणालगायत समग्रमा बजेट राम्रो आएको प्रतिक्रिया दिए । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रले बजेटलाई सकारात्मक रूपमा लिएको बताए । उनले कार्यक्रमहरु सबै राम्रा आएका तर बाँकी कुरा आर्थिक ऐन आएपछि थाहा हुने बताए । राजश्व उठाउने विषयमा कर्मचारीहरुले राम्रो नियतले काम गरिदिए अन्य कुराहरुलाई बजेट सकारात्मक रहेको अध्यक्ष अग्रवालको भनाइ थियो । निजी क्षेत्रका मागहरुलाई अर्थमन्त्रीले सकारात्मक रुपमा लिएर बजेटमा समावेश गरिदिएको बताए ।

बजेटबारे प्रतिक्रिया दिँदै निजी क्षेत्रका व्यवसायीहरूले बजेट समग्रमा आशालाग्दो भएको र बाँकी कुरा आर्थिक ऐन आएपछिमात्र प्रतिक्रिया दिन सकिने बताए ।