काठमाडाैँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले ल्याएको आर्थिक वर्ष २०८२/०८३ को बजेट आशा जगाउने खालको नभएको टिप्पणी गरेका छन् ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीवार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजित बजेट प्रश्तुत गरेपछि संसद् भवन परिसरमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रलाई समग्र चलायमान बनाउने ढङ्गले बजेट नआएको बताए ।
उनले आगामी आर्थिक वर्षको बजेट नियमित बजेटको रूपमा आएको जिकिर गरे । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव समेत रहेका पुनले गत वर्षको बजेटमा आफूहरूले अर्थतन्त्रका ५ क्षेत्र भनेर उल्लेख गरे पनि अहिलेको बजेटमा क्षेत्र केन्द्रित नभएको बताए।
उनले गत वर्ष ७ प्रदेशलाई ७ वटा विशेषतामा विकास गर्ने भनिएको स्मरण गर्दै अहिले सो बारे केही उल्लेख नभएको बताए । उनले गत वर्ष स्टार्टअप लगायतका आइसिटी क्षेत्रलाई विशेष प्राथमिकता दिइएको उल्लेख गर्दै अहिलेको बजेटमा उक्त कुरा छरिएर आएको बताए । उनले सरकारले विद्युतीय गाडीको करलाई यथावत राख्नु भने सकारात्मक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्