काठमाडौं । आगामी आर्थिक वर्ष २०८२ /८३ को बजेटमा पुँजीगत लाभकरको विषयले त्रसित बनेका लगानीकर्ताहरू उत्सहित बनेका छन् ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा अर्थमन्त्री विष्णु पौडेलले सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकरको विषयमा कहि कतै बोलेनन् ।
सरकारले आगामी आर्थिक वर्षदेखि सेयर कारोबारमा पुँजीगत लाभकर ७ प्रतिशत बाट बढाएर १० प्रतिशत पु¥याउने विषयले लगानीकर्ता त्रसित बनेका थिए ।
विभिन्न सञ्चार माध्याम, सामाजिक सञ्जालमा पुँजीगत लाभकर १० प्रतिशत पुर्याउने विषय सार्वजनिक भइरहँदा सेयरबजारमा एक खालको आतंक नै मच्चिएको थियाे ।
बजेटले सेयर कारोबारमा पुँजीगत लाभकरको विषयलाई नछुँदा लगानीकर्ताहरु उत्साहित बनेको नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालले बताए ।
सेयरबजारको लागि यो बजेटले खासै छोएको देखिएन उपाध्यक्ष लम्सालले भने, ”कुनै पनि करका दरमा परिर्वतनदेखि सेयरबजारको लागि नयाँ विषयहरू आएनन्, नेपाल धितोपत्र बोर्ड र नेप्सेको संस्थागत क्षमता वृद्धि र पुनर्संरचना गत वर्षकै विषयलाई निरन्तरता दिइएको छ, समग्रमा बजेटले नेगेटिभ भाइब्स पैदा गरेको छैन ।”
करका दर परिर्वतको विषयमा बजारमा आएका नकरात्मक हल्लाहरुलाई बजेटले निस्तेज पारिदिएको हुँदा बजेटलाई सकरात्मक रुपमा नै लिएको लम्सालको भनाई छ ।
गतवर्षमा आउने बजेट र आगामी वर्षको बजेटमा कुनै परिर्वतन नभएको लगानीकर्ता सुवास ढुंगानाले बताए ।
उनले भने, ”सेयर बजारको विषयलाई खासै छोएको देखिदैन, तर पनि बजारलाई प्रभावित हुने विषय नआउँदा बजेट सकरात्मक नै मान्नु पर्छ ।”
बजारमा जुन हल्ला थियो त्यो हल्ला बमोजिम बजेट नआउनु नै लगानीकर्ताको लागि सुखद पक्ष रहेको ढुंगानाको भनाई छ ।
पुँजीबजार लगानीकर्ता संघकी पूर्व अध्यक्ष तथा लगानीकर्ता राधा पोख्रेल बजेटले सेयरबजारमा चलखेल गर्नेलाई रोकेको बताएकी छन् ।
सेयरकारोबारमा पुँजीगत लाभकरको डर देखाएर केही समुहले चलखेल गरेका थिए । पोख्रेलले भनिन्, ”यो बजेटमार्फत करको दर हेरफेर नगर्दा बजारमा लगानीकर्ताहरुको बनोबल उच्च बनेको छ, समग्रमा बजेट पुँजीबजारमैत्री नै आएको र स्वागत योग्य छ ।”
सरकारले गैरआवासीय नेपाली लाई दोस्रो बजारमा कारोबार गर्न अनुमति दिने विषयले पनि लगानीकर्ताहरुमा सकरात्मक उर्जा फैलिएको पोख्रेलको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्