काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले बजेटले आम्दानी खर्चको यथार्थपरक अनुमान गरेको दाबी गरेका छन् ।
आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले बजेटमा नीतिगत सुधार गरिएको भन्दै बजेटले आम्दानी खर्चको यथार्थपरक अनुमान गरेको दाबी गरेका हुन् ।
उनले बजेटमा नीतिगत सुधार गरिएको उल्लेख गर्दै वैकल्पिक विकास वित्तको उपयोग गर्ने नीति लिइएको, आयोजना व्यवस्थापन र खरिद प्रक्रियामा गरेको सुधारले पुँजीगत खर्च बढ्ने व्यवस्था गरिएको, सङ्घीय आयोजनाका लागि रु ३ करोडको मापदण्ड कार्यान्वयन गरिएका बताए ।
यस्तै मितव्ययीता र खर्च कटौतीका नीतिले चालु खर्च सन्तुलनमा राख्ने, जेठ १५ गतेपछि खरिद प्रक्रिया गर्न सकिने व्यवस्था गरिएको, २५ करोड रुपैयाँ भन्दा बढिका आयोजनाको राष्ट्रिय ड्यासवोर्डबाट अनुगमन गर्ने व्यवस्था मिलाइएको बताए ।
अनुदानलाई लागतको अधिकतम ५० प्रतिशतमा सीमित गरिएको,प्रदेश र स्थानीय तहले सन्तुलित बजेट ल्याउनुपर्ने नीतिगत व्यवस्था गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।
वन क्षेत्रको जग्गा उपयोगमा सरलीकरण गरिएको, सामाजिक सुरक्षा खर्च र स्वास्थ्य बीमालाई थप व्यवस्थित गरिएको, कन्टिन्जेन्सी तथा परामर्शदाताको खर्चमा नियन्त्रण गरिएको पौडेलको दाबी छ ।
राष्ट्रिय परिचयपत्रलाई मूख्य आधार मानी सामाजिक सुरक्षा र सेवा प्रवाहलाई व्यवस्थित गराइएको, विदेशी लगानी प्रवर्धनका लागि नीतिगत सुधारको प्रस्ताव गरिएको पनि अर्थमन्त्री पौडेलले पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्