काठमाडाैँ । रुपन्देहीस्थित यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी विवरण गैरकानुनी रूपमा सच्याएर अर्कै व्यक्तिको नाममा लाइसेन्स जारी गरिएको खुलासा भएपछि तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुलीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
विशेष अदालत काठमाडौँमा दायर गरिएको आरोपपत्रअनुसार रुपन्देहीकी सभ्यता के.सी.को नाममा लाइसेन्स जारी गर्ने क्रममा सरकारी अभिलेखमा हेरफेर गरी गलत विवरण राखिएको पाइएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो।
उनीसँग मिलेमतो गरेर यो कार्यमा संलग्न भएको आरोपमा तत्कालीन सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय, दाङ्ग तुलसीपुर यातायात कार्यालयका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगर र सभ्यता के.सी.माथि पनि मुद्दा दायर गरिएको हो।
जाँच अनुसार २०७८ चैत ७ गते (२०२२ मार्च २१) मा एप्लिकेसन आइडी ८४०१६८५ अन्तर्गत अर्कै व्यक्तिको नाममा क्याटिगाेरी बी (कार,जीप, डेलिभरि भ्यान) को लाइसेन्स जारी भइसकेको थियो तर, आरोपित कर्मचारीहरूले मिलेमतो गर्दै सोही आइडी प्रयोग गरी सभ्यता के.सी.को नाममा विवरण सच्याई लाइसेन्स जारी गराएको पाइएको हो।
यातायात व्यवस्था विभागको EDLVRS प्रणालीमा एकपटक उत्पत्ति भएको एप्लिकेसन आइडी दोहोरिन नसक्ने स्पष्ट प्रावधान हुँदाहुँदै पनि गलत मनसायका साथ सरकारी अभिलेख सम्पादन गरी लाइसेन्स बनाइएको देखिएको छ।
सभ्यता के.सी.ले पनि बिना प्रक्रिया र परीक्षा अर्कैको आइडी प्रयोग गरी लाइसेन्स लिएको, उक्त गलत लाइसेन्सलाई प्रयोगसमेतमा ल्याएको पाइएपछि उनीमाथि मुख्य कसूरदारसरह कारबाही गर्न माग गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, ११ र २२ बमोजिम सजाय माग गर्दै मुद्दा दायर गरिएको विशेष अदालतलाई जानकारी दिइएको छ।
प्रतिक्रिया दिनुहोस्