‘दूधको खपत बढाऔं, अर्थतन्त्र सबल बनाऔं’ नारासहित तारकेश्वरमा दुधपान कार्यक्रम सम्पन्न


काठमाडौँ । विश्व दुग्ध दिवसको पूर्वसन्ध्यामा नेपाल डेरी एसोसिएसनको आयोजनामा तथा राष्ट्रिय दुग्ध विकास बोर्ड र अन्य सरोकारवालाहरुको सहकार्यमा तारकेश्वर नगरपालिका–७ स्थित रोजमेरी आईडल बोर्डिङ्ग स्कुलमा दुध तथा दुग्धजन्य पदार्थको उपयोगिता सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

“दूधको खपत बढाऔं, अर्थतन्त्र सबल बनाऔं” भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज महर्जनको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष दिप प्रसाद धमला, बागमती प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरे, महासचिव हेमचन्द्र खनाल, केन्द्रीय सदस्य रमेश सञ्जेल, दुग्ध उत्पादक संघका कृष्ण प्रसाद सापकोटा, राष्ट्रिय दुग्ध विकास बोर्डका शंकर अधिकारी, उपाध्यक्ष मनोज कुमार घिमिरे नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघका महासचिव श्रीकृष्ण भण्डारी, विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद दाहाललगायत सरोकारवाला संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको संयोजन विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद दाहालले गरेका थिए। उनले प्रमुख अतिथि तथा अतिथिहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य प्रस्तुत गरेका थिए।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले विगत केही वर्षदेखि संघले दूध तथा दुग्धजन्य पदार्थको मौलिक उपभोग र व्यवसायिक प्रवर्द्धनमा काम गर्दै आएको जानकारी दिँदै विद्यार्थीहरूमा स्वस्थ सोच र जीवनशैलीको विकास आवश्यक रहेको बताए।

कार्यक्रममा केन्द्रिय दुग्ध सहकारी संघका उपाध्यक्ष कृष्ण प्रसाद सापकोटाले दूध खपतमा एसोसिएसनको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई अन्य पेय पदार्थ र जन्क फुडबाट टाढा रहन आग्रह गरे।

प्रमुख अतिथि नरेशलाल श्रेष्ठले दूध एक पूर्ण पौष्टिक आहार भएकाले यसको सेवन आवश्यक रहेको भन्दै बालबालिकामा दुग्धजन्य पदार्थप्रतिको चेतना अभिवृद्धिमा एसोसिएसनले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे।

नेपाल उद्योग वाणिज्य महासंघका अर्का सदस्य लिलेन्द्र प्रसाद प्रधानले डेरी एसोसिएसनले अघि सारेको मोही अभियान सराहनीय रहेको भन्दै मोहीलाई राष्ट्रिय पेय पदार्थको रूपमा घोषणा गर्नुपर्ने धारणा राखे।

उक्त अवसरमा विद्यालयमा अध्ययनरत एक हजारभन्दा बढी विद्यार्थीलाई निशुल्क दुधपान गराइएको थियो। एसोसिएसनका महासचिव हेमचन्द्र खनालले सातवटै प्रदेशका २५ जिल्लामा विभिन्न कार्यक्रमहरू आयोजना गरी विश्व दुग्ध दिवस मनाउन निर्देशन दिइसकेको जानकारी दिए।

त्यस्तै, केन्द्रीय सदस्य रमेश सञ्जेलले अन्य स्थानहरूमा समेत निशुल्क दूध वितरण कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। यस वर्षको मुख्य समारोह नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यमा हेटौंडामा सम्पन्न हुने जानकारी राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य तथा एसोसिएसनका सहकोषाध्यक्ष रामभक्त दाहालले दिए।

कार्यक्रमको उद्घाटन विद्यालयका साना बालबालिकालाई प्रमुख अतिथि तथा अतिथिहरुले दूध पिलाएर संयुक्त रूपमा गरेका थिए। साथै, उपस्थित अतिथिहरूलाई मायाको चिनोस्वरूप दुग्धजन्य पदार्थसमेत वितरण गरिएको थियो।