काठमाडाैँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले प्रजातान्त्रिक संस्कार, आचरण, मूल्य, मान्यताका निम्ति फेरि लड्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गलत काम गर्न नहुने र सही काम गर्न नसके चुप लागेर घरमै बस्न सुझाव दिएका हुन् ।
उनले दिनानुदिन भ्रष्टाचारले अफ्ठ्यारो पारिरहेको भन्दै सुशासन दिन सक्नुपर्ने बताए । पदाधिकारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौँ एमालेको कब्जामा राख्नुपर्छ भन्ने अभिव्यक्ति दिएको बारेमा छलफल हुने सोचे पनि आफ्नो बारेमा छलफल भएको भन्दै आपत्ति जनाए ।
उनले प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिप्रति राष्ट्रिय ममानव अधिकार आयोगले सचेत गराएपछि प्रधानमन्त्री आयोगको वार्षिकोत्सव कार्यक्रममै बहाना बनाएर नजाने आरोप लगाए । उनले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिकोत्सवमा प्रधानमन्त्री नजाने हो भने कस्तो लोकतन्त्र हामीले खोजिरहेका छाैँ भन्दै प्रश्न गरे ।
सांसद कोइरालाले एमालेको जुलुस भन्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलुस ठूलो हुनु युवाहरूमा आएको नैराश्यताको परिणाम भएको बताए । उनले अहिलेका नेताहरूको आचरण लोकतान्त्रिक गणतन्त्रको नभएको बताए । उनले राजनीतिमा नैतिकताको धरातल कमजोर भए राजनीतिको जड हल्लिने बताए ।
प्रतिक्रिया दिनुहोस्