यातायात व्यवस्थापन एवम् सञ्चालनका लागि सुचना प्रविधि तथा एआईको प्रयोग उपयोगी छः मन्त्री दाहाल


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात व्यवस्थापन एवम् सञ्चालनका लागि सुचना प्रविधि तथा एआईको प्रयोग उपयोगी हुने बताएका छन् ।

विश्वव्यापी रूपमा बढि रहेको सुचना प्रविधिको पहुँच र सुविधालाई यातायात व्यवस्थापन एवम् सञ्चालनमा पनि उपयोग गर्न सक्नु पर्ने उनको भनाइ छ ।

दक्षिण कोरियाको सुवोनमा आयोजीत आईसीएस प्यासिफिक फोरममा संवोधन गर्दै उनले नेपालले समेत पछिल्ला वर्षहरुमा आईटीको प्रयोगलाई बहुउपयोगी र प्रभावकारी बनाउने तर्फ ध्यान दिएको बताए । एसिया प्यासिफिक क्षेत्र सम्भावना र सहकार्यको प्रचुर सम्भावनाको क्षेत्र रहेको उल्लेख गर्दै मन्त्री दाहालले स्मार्ट मोबिलिटीलाई प्रवर्धन गर्नुपर्नेमा जोड दिँदै उसले कार्वन उत्सर्जनलाई न्युनिकरण गर्नका साथै वायुगुणस्तर सुधार र समावेशी विकासमा समेत सहयोग पुर्‍याउने बताए ।

नेपाल जस्तो भुपरिवेष्ठित देशका लागि आपसी सहयोग र सहकार्य महत्वपूर्ण उल्लेख गर्दै मन्त्री दाहालले आपसी ज्ञान र अनुभव आदन प्रदानमा नेपालले महत्व दिने पनि बताए । नेपालले यातायात सेवा पूर्वाधारलाई उच्च प्राथमिकता दिने गरेको भन्दै उनले एशिया प्यासिफिक क्षेत्रसँग सहकार्यका लागि तयार रहेको समेत बताए ।

मे २८ देखि ३० सम्मको कार्यक्रमका लागि मन्त्री दाहाल नेतृत्वको टोली दक्षिण कोरीयाको सुवोन पुगेको हो । कोरियाको स्पेसल सिटीमा आयोजीत कार्यक्रमको विभिन्न १२ देशका मन्त्रीहरूले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

उद्घाटन शत्र, हाईलेवर मिनिस्टेरीयल राउण्ड टेवल र क्लोजिङ् सेरोमोनी गरि तीन भागमा विभाजन गरिएको कार्यक्रममा ‘ईन्टेलीजेन्स ट्रान्सपोर्ट सिष्टम’को माध्यमबाट एसिया प्यासिफिक देशहरूमा सार्वजनिक यातायातलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्नेबारेमा छलफल भएको थियो ।

उक्त छलफलपछि एक प्रतिबद्धता पत्र पनि सार्वजनिक गरिएको थियो । कार्यक्रमका अवधिमा विश्वभरीका आईटीएस ट्रान्सपोर्ट सम्वन्धि विज्ञहरुबाट विभिन्न प्यानलमा छलफल हुने कार्यक्रम रहेको छ ।