सरदर मितिभन्दा १५ दिनअघि नै भित्रियो मनसुन


काठमाडौँ । यस वर्षको मनसुन हिजाे (बिहीबार) रातिदेखि नेपालको पूर्वतर्फ प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू-भागमा फैलिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मनसुन आगमन बुलेटिन अनुसार, कोशी प्रदेशका मौसम केन्द्रहरूमा हल्का देखि मध्यम मनसुनी वर्षा भएको जनाएको छ।

नेपालमा सामान्यतया मनसुन प्रवेश गर्ने मिति जून १३ मानिन्छ। तर यस वर्ष मनसुन सरदर मितिभन्दा १५ दिन अगाडि नै नेपालमा प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका अन्य भू-भागहरूमा मनसुनको प्रभाव विस्तार हुन अझै केही समय लाग्ने अनुमान गरिएको छ। बाँकी भू-भागमा भने पश्चिमी वायु र स्थानीय वायूको प्रभाव यथावत रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले आगामी दिनहरूमा पनि मौसमको निरन्तर अनुगमन गर्दै नियमित रूपमा नयाँ मौसम सूचना प्रकाशित गर्दै जाने बताएको छ।