काठमाडौँ । आर्थिक वर्ष २०८२/०८३ को बजेटले नेपालको अटोमोबाइल व्यवसायमैत्री वातावरण तयार पारेको नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपालले प्रतिक्रिया दिएको छ।
एसाेसिएसनले जारी गरेकाे विज्ञप्तिमा अटोमोबाइल क्षेत्रलाई गतिशील र चलायमान बनाउन सरकारका विभिन्न मन्त्रालय तथा विभागहरूसँग समय–समयमा नीतिगत सुझाव र सल्लाह प्रस्तुत गर्दै आएको उल्लेख गरिएको छ। ती सुझावहरूमध्ये धेरैलाई बजेटले समेटेको भन्दै एसाेसिएसनले बजेटलाई स्वागत गरेको हाे।
“बजेटले अटोमोबाइल क्षेत्रको वर्षौंदेखिको माग र आवाजलाई सम्बोधन गरेको छ”, विज्ञप्तिमा भनिएको छ, “यो बजेट व्यवसायमैत्री हुनुका साथै उद्यमी तथा व्यवसायीहरूलाई प्रोत्साहन गर्ने खालको छ।”
नाडाले आगामी मौद्रिक नीतिले पनि यही धारणा समेट्ने अपेक्षा राखेको छ। बजेटमार्फत आफ्नो आवाज सम्बोधन गरेकोमा नाडाले नेपाल सरकारप्रति आभार प्रकट गरेको छ।
प्रतिक्रिया दिनुहोस्