उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयबिच शैक्षिक सहकार्यको तयारी


काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयबिच शैक्षिक क्षेत्रको विकास तथा अनुसन्धानमा सहकार्य गर्ने विषयमा छलफल भएको छ।

महासंघको सचिवालयमा भएको भेटवार्तामा उद्योग–व्यवसायको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन, विद्यार्थीलाई व्यावहारिक ज्ञान र सीप प्रदान गर्ने, तथा रोजगारीका अवसर सिर्जनासहित विविध विषयमा सहकार्य गर्ने सम्भावनाबारे विचारविमर्श भएको हो।

भेटका क्रममा पाठ्यक्रम विकास, तालिम कार्यक्रम सञ्चालन, संयुक्त परियोजनाहरू अघि बढाउने लगायतका विषयमा थप छलफल गर्ने सहमति पनि भएको छ।

सो अवसरमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले यस सहकार्यले निजी क्षेत्र र शैक्षिक संस्थाबिचको दूरी घटाउने विश्वास व्यक्त गरे। उनले भने, “उद्योग–व्यवसायले चाहेको दक्ष जनशक्ति उत्पादन गर्न र युवालाई रोजगारीका अवसरहरू उपलब्ध गराउन यो सहकार्य फलदायी हुनेछ। यस्तो सहकार्यप्रति हामी सकारात्मक छौं।”

नेपाल विश्वविद्यालयका कुलपति डा.विन्दुनाथ लोहनीले सहकार्यले शैक्षिक प्रणालीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न मद्दत गर्ने बताए । उनले भने, “हाम्रो लक्ष्य विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप र उद्यमशीलताको भावना दिनु हो। महासंघसँगको सहकार्यले यो लक्ष्य पूरा गर्न टेवा पुर्‍याउनेछ।”

त्यस्तै, विश्वविद्यालयका उपकुलपति डा.अर्जुन कार्कीले विश्वविद्यालयको उद्देश्य सीपयुक्त, दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन गर्नु रहेको बताउँदै त्यसका लागि महासंघसँगको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

दुवै पक्षले संयुक्त अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता विकास, इन्टर्नशिप तथा रोजगारीका अवसर सिर्जना जस्ता विषयमा सहकार्यको सम्भावनामा जोड दिएका छन्।