डेरी एसाेसिएसनले गर्‍यो बजेटकाे स्वागत


काठमाडौँ । नेपाल डेरी एसोसिएसनले अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को बजेटलाई समग्र रूपमा सकारात्मक रहेको प्रतिक्रिया दिएको छ।

एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले बजेटको आकार ठूलो भए पनि कार्यान्वयनमा चुनौती देखिएको उल्लेख गर्दै कृषि क्षेत्रको सम्बोधन सन्तोषजनक रहेको बताए।

अध्यक्ष दाहालका अनुसार बजेटले दूध तथा दुग्ध क्षेत्रमा ध्यान दिएको देखिन्छ। “बजेटमा अन्तशुल्क, भ्याट र निर्यातसम्बन्धी विषयमा केही हदसम्म सम्बोधन गरिएको छ,” उनले भने, “यस्तो नीति डेरी उद्योगको लागि स्वागतयोग्य छ।”

उनले दुग्ध विकास संस्थानको पुनर्संरचना, साना व्यवसायीलाई कर छुट, विद्यार्थीहरूलाई व्यवसाय सुरु गर्न सहुलियतपूर्ण कर्जा, सामान आयात गर्दा आवश्यक पर्ने एग्जिम कोड राख्ने रकममा छुट, उपत्यकाबाट उद्योग बाहिर सार्दा सहुलियत, औद्योगिक ग्राममा लाग्ने भाडामा छुट, निर्यातबाट प्राप्त मुनाफालाई बाह्य लगानीमा प्रयोग गर्न पाउने सुविधा, भूमि बैंक, बाँझो जग्गा नछोड्ने नीति, सहकारीको पैसा अपचलन गर्नेको राहदानी जफतजस्ता व्यवस्थाहरूलाई पनि सकारात्मक रूपमा लिएका छन्।

त्यस्तै, महिला उद्यमीलाई दिइएको सहुलियत तथा विद्युतीय सवारी साधनमा दिइएको सुविधा पनि सराहनीय रहेको एसोसिएसनको धारणा छ तर, अध्यक्ष दाहालले बजेटमा विदेशी ऋणमा धेरै निर्भरता देखिएको भन्दै कार्यान्वयनमा शंका गर्नुपर्ने धेरै ठाउँ रहेको धारणा पनि व्यक्त गरे। “बजेटमा धेरै राम्रो कार्यक्रमहरू छन् तर कार्यान्वयनकै स्तरमा देशले सफलता पाउने वा नपाउने भन्ने निर्धारण हुनेछ,” उनले भने।

उनले सरकारलाई बजेटको प्रभावकारी कार्यान्वयनतर्फ विशेष ध्यान दिन आग्रह गरे।