नेपालीले विदेशमा लगानी गर्न दिने निर्णय ऐतिहासिकः महासंघ अध्यक्ष ढकाल


काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सहयोग पुग्ने गरि आगामी आर्थिक बर्ष २०८२/८३ को बजेट आएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले शनिबार काठमाडौँमा आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा नेपालीलाई विदेशमा लगानी गर्न दिने बिषय निकै महत्वपूर्ण र ऐतिहासिक भएको पनि उनले बताए । समग्रमा निजी क्षेत्रलाई प्राथमिकता दिएर बजेट आएको उनको भनाइ छ ।

राम्रो निर्णय लिनका लागि निजी क्षेत्र सँधै सरकारको साथमा रहेको उनले बताए । अब साधन स्रोत परिचालन गर्ने ठाउँमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

बजेटमा आएका कुराहरुलाई कार्यान्वयनमा ध्यान दिनु पर्ने आवश्यकता रहेको पनि उनले बताए ।

उनले खनिजजन्य र नदिजन्य पदार्थको उत्खनमा पनि ध्यान दिनु पर्ने आवश्यकता रहेको बताए । केही समयका लागि आलोचना भए पनि लामो समयसम्म सकारात्मक प्रभाव पर्ने निर्णय गर्नका लागि सरकार डराउन नहुने उनको भनाइ छ ।

यस्तै, पर्यटन क्षेत्रमा प्राथमिकता दिइएकोमा उनले खुसी व्यक्त गरे । तर, टिडिएस र करले गर्दा पर्यटकको लागत बढेको हुदाँ यसमा पनि सहज बनाउन आवश्यक रहेको उनले बताए ।

बजेट मार्फत लगानी बोर्डलाई शक्तिशालि बनाएकोमा खुसी व्यक्त गर्दै उनले लगानीकर्ताहरुलाई एकद्धार भन्दा पनि झन्झटिलो प्रक्रियाबाट मुक्त गराउनुपर्ने बताए ।

यस्तै, उनले मौद्रिक नीति र बजेट बीच तालमेल मिलेमा उचित नतिजा आउने पनि उनले बताए ।