हेटौंडा । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आफू मन्त्री भएको ११ महिना बितिसक्दा पनि किसानको दुधको पैसा तिर्न नसक्दा दुःख लागेको बताएका छन्। विश्व दुग्ध दिवसको अवसरमा हेटौंडामा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले किसानका समस्या समाधानका लागि काम गरेर देखाउनुपर्ने बेला आएको बताएका हुन् ।
उनकाअनुसार दुग्ध विकास संस्थान (डिडिसी) मार्फत मात्र झण्डै १ अर्ब रुपैयाँ भुक्तानी बाँकी छ भने समग्रमा किसानलाई ३ देखि ४ अर्ब रुपैयाँ तिर्न बाँकी छ। “किसान इमान्दार छन् तर हामी इमान्दार हुन सकिरहेका छैनौँ, जबसम्म पैसा तिर्न सक्दैनौँ तबसम्म हाम्रो इमान्दारीको मूल्य छैन,” उनले भने।
मन्त्री अधिकारीले आफू मन्त्री बनेपछि किसानका पक्षमा के गर्न सकिन्छ भन्ने सोच लिए पनि अघिल्लो सरकारले ल्याएको बजेटमा उल्लेख गरेको कुराहरू बाहेक केही गर्न नपाएको गुनासो गरे।
“अगामी बजेट कार्यान्वयन हुने बेलासम्म म बस्छु कि बस्दिन, तर म नभए पनि किसानको पैसा तिर्न नसकेको जीवनभर नराम्रो सम्झना भएर रहनेछ,” उनले भने
उनले किसानलाई १५ दिनभित्र दुधको भुक्तानी दिनुपर्ने प्रावधान भए पनि व्यवहारमा त्यो हुन नसकेको स्वीकार गरे। “हामी बोलेर मात्रै हुँदैन, त्यसलाई कार्यान्वयनमा पुर्याउन पनि प्रयत्न गरेका छौँ,” मन्त्री अधिकारीले भने।
किसानको भुक्तानी नपाउँदा डिडिसीका कर्मचारीले दैनिक घिउ र दुध दिने कामसमेत बन्द गरेको जानकारी दिँदै उनले भने, “एउटा भैँसीबाट चार माना दुध ल्याउन किसानलाई कति दुःख हुन्छ, मलाई पनि थाहा छ।”
उनकाअनुसार दुध व्यवसाय सुरुवातमा दुग्ध विकास संस्थानको सहकार्यमा थालिएको भए पनि अहिले निजी क्षेत्रको बलियो उपस्थिति रहेको छ। मन्त्री अधिकारीले नेपाल दुधमा मात्र नभई अन्य कृषि उत्पादनमा पनि अझ धेरै निर्भर हुने दिन आउने बताए।
कोभिड महामारीपछि दुग्ध क्षेत्रमा थप समस्या देखिएको उल्लेख गर्दै उनले भने, “दुग्ध पदार्थको मौज्दात बढ्दै गएको छ तर बजार व्यवस्थापनमा हामी चुकेका छौँ । यस्तो अवस्थामा सबै निकायको सहकार्य आवश्यक छ ।”
कार्यक्रमको अन्त्यमा मन्त्री अधिकारीले किसानको भुक्तानीका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस्