राजाबादी समूहको काठमाडौँ उपत्यका बन्द फिर्ता



काठमाडौँ । राजसंस्था र हिन्दु राज्य पुनस्र्थापनाको मागसहित आन्दोलन गरिरहेको संयुक्त जनआन्दोलन समितिले काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ ।

आन्दोलनका क्रममा जेठ १८ गते पक्राउ परेका सबै रिहा भएको भन्दै समितिले आन्दोलन फिर्ता लिएको हो ।

समितिका संयोजक नवराज सुवेदीले जारी गरेको प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन फिर्ता लिएको जानकारी गराएका हुन् ।

सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरु रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिइएको जानकारी गराइन्छ ।”

हिजो काठमाडौँमा प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंहसहितलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

थापासहितका नेता कार्यकर्ता पक्राउ गरेपछि समितिले आज उपत्यका बन्दको घोषणा गरेको थियो । हिजो बेलुकी नै सबै रिहा भएको भन्दै समितिले बन्द फिर्ता लिएको हो ।