सार्वजनिक यातायात बन्दसँगै नागरिकको दैनिक जनजीवन प्रभावित


काठमाडाैँ । यातायात व्यवसायीहरूको यातायात बन्दको घोषणासँगै काठमाडौँ उपत्यकामा आम नागरिकहरूले सास्ती व्यहोरेका छन् । 

आजदेखि यातायात व्यवसायीहरूले देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका थिए । सोमवार बिहानैदेखि सार्वजनिक यातायात सडकमा नदेखिएसँगै आम नागरिकको जनजीवन अस्तव्यस्त बनेको छ ।

‘सार्वजनिक यातायात बचाउ केन्द्रिय संघर्ष समिति’को आह्वानमा सोमवारदेखि देशभरका सार्वजनिक यातायात बन्द छन् । काठमाडौं उपत्यकामा छिटपुटमात्रै यातायात चलेको देखिन्छ । यातायात ठप्प हुँदा आम नागरिकहरूको दैनिकी अस्तव्यस्त बनेको छ ।

धेरै कलेजहरू बन्द भए पनि माध्यामिक विद्यालयहरू धेरै खुलेकाे पाइएकाे छ । कार्यालय समयमा निजी सवारी र राइड सेयरिङमा चाप बढेकाे छ ।

कार्यालय जानदेखि आफ्नो कामको लागि सार्वजनिक यातायातको प्रयोग गर्ने यात्रुहरू उभिएर सवारीसाधन कुरिरहेको देख्न सकिन्छ । कार्यालय समयकाे सडककाे चाप भने सामान्यदिन जस्तै नै देखिएकाे छ।

व्यवसायीले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गर्दै आन्दोलन सुरू गरेका हुन् ।

यातायात व्यवसायी र गृहमन्त्रीबिच वार्ता भने सुरू भएकाे छ ।