‘हिजोको नेपाल’ फोटो प्रदर्शनी सुरू, २८० भन्दा बढी पुराना तस्वीरहरू प्रदर्शनमा


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेपाल फोटो फाउन्डेशनको सहकार्यमा ‘हिजोको नेपाल’ शीर्षकमा पुराना फोटाहरूको प्रदर्शनी अभियान सुरू गरेको छ।

सोमबार बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयबाट सुरू गरिएको अभियान अन्तर्गत नेपाली समाज, शिक्षा, संस्कृति, चाडपर्व, मुद्रा, ऐतिहासिक घटनाक्रमलगायतका २८० भन्दा बढी पुराना तस्वीरहरू प्रदर्शनमा राखिएका छन्।

फोटाहरू १९२० सालदेखि हालसम्मका विभिन्न कालखण्डका छन्। यस अभियानमार्फत युवापुस्ताले नेपालको ऐतिहासिक, सामाजिक र सांस्कृतिक विरासतबारे बुझ्न पाउने अपेक्षा गरिएको छ।

ज्ञानोदय माविबाट सुरू भएको अभियान क्रमशः त्रिपुरेश्वरस्थित विश्वनिकेतन मावि, बानेश्वरस्थित रत्न राज्यलक्ष्मी मावि, बालुवाटारस्थित शिवपुरी मावि र न्योखास्थित कन्या मन्दिर माविमा पनि सञ्चालन हुने महानगरले जनाएकाे छ ।

फोटो प्रदर्शनी अभियान जेठ महिनाभित्र सम्पन्न गरिने काठमाडौँ महानगरपालिकाले जनाएको छ। यस प्रदर्शनीले विद्यार्थीहरूलाई नेपालका पुराना दिनहरूको झझल्को दिने विश्वास आयोजकको छ।