काठमाडौँ । आज सार्वजनिक यातायात अवरुद्ध भइरहँदा राइड सेयरिङ सेवाहरूले भाडा बढाएको भन्ने समाचारहरूमध्ये पठाओको नामसमेत जोडिएपछि कम्पनीले स्पष्टिकरण दिएको छ। पठाओले कुनै पनि किसिमको भाडा वृद्धि नगरेको बताउँदै यात्रुहरूलाई अफलाइन राइडप्रति सतर्क रहन आग्रह गरेको छ।
“हामीले नियमित शुल्क मात्र लिएका छौँ, पठाओ एपमा कुनै पनि शुल्क वृद्धि गरिएको छैन। यात्रुहरूलाई परेको असहज परिस्थितिमा सहजीकरण गर्न हामी राइडरहरूलाई कम्पनीको तर्फबाट क्वेस्ट र इन्सेन्टिभ दिई थप राइड गर्न प्रोत्साहन गरिरहेका छौँ,”पठाओले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कम्पनीले यात्रुहरूलाई सुरक्षित र सुनिश्चित राइडका लागि मोबाइल एपबाट मात्रै सेवा लिन आग्रह गरेको छ। “अफलाइन यात्रा गर्दा राइडको कुनै रेकर्ड सिस्टममा नहुने, बिमा नहुने तथा ठगी, डकैती वा दुर्ब्यवहारजस्ता आपराधिक घटनाको जोखिम उच्च हुने भएकाले अफलाइन यात्रा नगर्न अनुरोध गर्दछौं,”विज्ञप्तिमा भनिएको छ ।
यदि यात्रुहरूले सेवा प्रयोग गर्दा कुनै समस्या वा गुनासो भोग्नुपरेमा २४ सै घण्टा उपलब्ध पठाओको कल सेन्टर ०१-५९७००९९ मा सम्पर्क गर्न सकिने जानकारी समेत कम्पनीले दिएको छ ।
प्रतिक्रिया दिनुहोस्