नोटमा पृथ्वीनारायण शाह र बुद्धको तस्बिर राख्न सूर्य थापाको प्रस्ताव


काठमाडौं । नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्न प्रस्ताव गरेका छन् ।

सोमवार अर्थ समितिमा वाफियाबारेको छलफलमा भाग लिँदै थापाले राष्ट्र एकीकरण गर्नेको तस्बिर नोटमा राखिनुपर्ने बताएका हुन् । आफू राजावादी नभए पनि नेपालको एकीकरण गर्ने व्यक्तित्वको तस्बिर नोटमा राख्नु उचित हुने धारणा राखेका थिए।

उनले पृथ्वीनारायण शाहको तस्बिर नोटमा राखेको खण्डमा इज्जत बढ्ने बताए। गभर्नर विश्वनाथ पौडेल समेत उपस्थित बैठकमा थापाले भने “म राजावादी होइन, गणतन्त्रवादी हो । गणतन्त्र ल्याउन लडेकै हो । तर पृथ्वीनरायण शाहको फोटो नोटमा राख्नुपर्छ । नेपालको एकीकरण गर्ने पृथ्वीनरायण शाहको फोटो राखे नोटको इज्जत समेत बढ्छ ।”

उनले नेपालमा जन्मिएका बुद्धको फोटो समेत नोटमा राख्नुपर्ने धारणा राखेका थिए।