काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजिव कुमार कर्णले उपभोक्तामाझ खाद्य स्वच्छता सम्बन्धी चेतना अझै न्यून रहेको भन्दै सो चेतना अभिवृद्धिका लागि विश्व खाद्य स्वच्छता दिवस मनाउने गरिएको स्पष्ट पारेका छन्।
विश्व खाद्य स्वच्छता दिवस २०८२ काे विषयमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक कर्णले खाद्य स्वच्छता कार्यक्रम केवल एक दिनका लागि सीमित नराखी वर्षभर चलाउने योजना रहेको जानकारी दिए। “हामीकहाँ अझै खाद्यसम्बन्धी ज्ञानको अभाव छ,” उनले भने ।
कर्णले खाद्य सुरक्षाको अभियानमा पत्रकार तथा सरोकारवाला निकायहरूबिच समन्वय आवश्यक रहेको उल्लेख गर्दै विभागले आफ्नो मातहत रहेका ४३ वटा कार्यालयलाई प्रभावकारी ढंगले परिचालन गरेको बताए।
त्यसै अवसरमा विभागका उपमहानिर्देशक सोमकान्त रिजालले बजार अनुगमनलाई नियमित रूपमा अघि बढाइरहेको जानकारी गराए। “बजार अनुगमन सुधारात्मक, दण्डात्मक र सचेतनामूलक तीनवटै ढंगबाट गरिएको छ,” उनले भने, “चाडपर्वका बेला मात्रै नभई अन्य समयमा पनि निरन्तर निगरानी राखिएको छ।”
रिजालले महानगर, जिल्ला प्रशासन र वाणिज्य विभागसँग समन्वय गर्दै अनुगमन गरिएको जनाए। अनुगमनका गतिविधिहरू हरेक हप्ता सार्वजनिक गरिने गरिएको उनको भनाइ थियो। “फूड सेफ्टीको अवस्था विगत र वर्तमान दुवैलाई हेरेर मूल्याङ्कन गर्नुपर्छ,” उनले भने।
उनका अनुसार हाईवे होटलहरूको अनुगमनलाई विभागको वार्षिक कार्यक्रममा समावेश गरिएको छ। साथै, स्थानीय तहका प्रतिनिधिहरूलाई पनि निरीक्षणसम्बन्धी तालिम दिइने व्यवस्था मिलाइएको जानकारी उनले गराए।
प्रतिक्रिया दिनुहोस्