चैते धानको समर्थन मूल्य कार्यान्वयन गर्न अखिल नेपाल किसान महासंघको माग


काठमाडौँ । सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८६९ रुपैयाँ तोके पनि हाल बजार मूल्य प्रतिक्विन्टल १ हजार ६२५ रुपैयाँ (प्रति मन ६५० रुपैयाँ) मात्र रहेको भन्दै किसान हतोत्साहित बनेका छन्। अझै उक्त मूल्यमा पनि धान बिक्री हुन नसकी कुहिने अवस्थामा पुगेकोप्रति अखिल नेपाल किसान महासंघले ध्यानाकर्षण गराएको छ।

“सरकारले औपचारिकताको लागि समर्थन मूल्य तोके पनि खरिदको ठोस व्यवस्था नगरेर किसानलाई पटक–पटक झुक्याउने प्रवृत्ति आपत्तिजनक छ,”महासंघका अध्यक्ष डा. प्रेम दंगालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।

आर्थिक वर्ष ०८१/०८२ का लागि मन्त्रीपरिषद्को फागुन २१ गतेको निर्णय अनुसार समर्थन मूल्य तोकिएपछि किसान उत्साहित भएर धान लगाएको तर अब बिक्रीका बेला बजार मूल्य समर्थन मूल्यभन्दा निकै तल झरेको महासंघको भनाइ छ।

“धान उत्पादन हुनासाथ सरकारले समर्थन मूल्यमा खरिद गर्नुपर्ने हो, तर सरकारले निर्धारण मात्र गरेर जिम्मेवारीबाट पन्छिने काम गरिरहेको छ,” महासंघले सरकारको ध्यानाकर्षण गराउँदै भनेको छ ।

धान भण्डारणका लागि गोदामको अभाव र बर्खे मौसममा सुकाउन नसक्ने अवस्थाका कारण किसान थप समस्यामा परेको भन्दै महासंघले प्रत्येक वडामा ड्रायर मेशिनसहितको गोदाम स्थापना गर्न माग गरेको छ। साथै तत्कालका लागि उत्पादित धान मौज्दात राख्ने व्यवस्था गर्न र किसानलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन पनि सरकारसँग आग्रह गरिएको छ।

“जनताको करबाट सञ्चालन हुने कम्पनीले किसानबाट धान किनेर भण्डारण गर्नुपर्ने हो, तर त्यसो गर्नेतर्फ कुनै चासो छैन,” महासंघले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको भूमिका पनि प्रश्न गर्दै भनेको छ । कृषिमा आत्मनिर्भर बन्ने कुरा गर्ने सरकारले वर्षेनी अर्बौं रुपैयाँको खाद्यान्न आयातमा निर्भर रहनु गैरजिम्मेवार भएको महासंघको आरोप छ।