पर्यटन बोर्डले सञ्चालन गर्‍यो निःशुल्क शटल बस सेवा


काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटकहरुको सहजताका लागि निःशुल्क शटल बस सेवा सञ्चालनमा ल्याएको छ । देशका विभिन्‍न स्थानमा देखिएको सार्वजनिक सवारीसाधन अवरोध, हड्ताल र यातायात सेवा अवरुद्ध भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाहिरदेखि काठमाण्डौका प्रमुख होटलहरूसम्म आउने पर्यटकहरूलाई निःशुल्क यात्राको सुविधा उपलब्ध गराइएको हो ।

पर्यटकहरूको आगमन सहज र स्वागतयोग्य बनाउने उद्देश्यले सुरु गरिएको यो सेवाबाट विमानस्थलको आगमन क्षेत्रमै नेपाल पर्यटन बोर्डका प्रतिनिधिहरूले यात्रुहरूलाई जानकारी र सहयोग प्रदान गरिरहेका छन् ।

बोर्डले आगामी दिनहरूमा पनि यस्ता सहज, व्यवस्थित र पर्यटकमैत्री सेवाहरू थप विस्तार गर्दै जाने जनाएको छ । नेपाल पर्यटन बोर्डले यो पहल स्वदेश आउने पर्यटकलाई स्वागतजनक अनुभूति दिन र उनीहरूको पहिलो यात्रालाई सहज बनाउनका लागि सुरु गरेको बताइएको छ ।