कालीमाटी तरकारी बजारमा विक्री हुने तरकारीमा विषादीको अवशेष मापदण्डभित्रै


काठमाडौँ । कालीमाटी तरकारी बजारमा नेपालका विभिन्न जिल्लाबाट ल्याइएका तरकारीमा प्रयोग हुने विषादीको अवशेष नियमन मापदण्डभित्रै रहेको पाइएको छ।

काठमाडौँ महानगरपालिका अन्तर्गत कृषि तथा पशुपन्छी विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले सोमबार राति १० बजेदेखि बिहान ३ बजेसम्मको अवधीमा घुम्ती खाद्य प्रयोगशाला (मोबाइल भ्यान) सहित बजारमा भित्रिँदै गरेका तरकारीको नमूना संकलन गरी स्थलगत परीक्षण गरेको थियो।

परीक्षणका क्रममा विभिन्न १७४ वटा नमूना लिइएकोमा सबैमा विषादीको मात्रा सुरक्षित स्तरमै रहेको पाइएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा.ईश्वर सुवेदीका अनुसार करिब २० जिल्लाबाट भित्रिएका तरकारी र फलफूलको नमूना परीक्षण गर्दा मापदण्डभन्दा बढी विषादी नदेखिएको हो।

सुवेदीका अनुसार परीक्षणमा काँक्रो, घिरौला, तीते करेला, आलु, भन्टा, काउली, बन्दाकोबी, सिमी, धनियाँजस्ता तरकारीको नमूना लिइएको थियो भने फलफूलमा लिचीको परीक्षण गरिएको थियो। त्यस्तै, सुकेको माछाको पनि नमूना परीक्षणमा परेको थियो।

आर.बी.पी.आर विधिबाट अर्गानोफोस्पेट र कार्वामेट समूहका विषादी परीक्षण गरिएको थियो। संकलित नमूनाहरू चितवन, काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, सर्लाही, धादिङ, नुवाकोटलगायतका जिल्लाबाट ल्याइएका थिए।

परीक्षण टोलीमा डा. ईश्वर सुवेदीसहित खाद्य अनुसन्धान अधिकृत सुशान्त निरौला, अनुसन्धान अधिकृत पदम भुषाल र काठमाडौँ महानगरपालिकाका खाद्य प्रविधिविद् अशोक पराजुली सहभागी थियाे ।