समानुपातिक सांसदहरुलाई हेपे बजेट पास हुन दिँदैनौँः सांसद शाही


काठमाडाैँ । नेकपा एमालेका सांसद दयालबहादुर शाहीले समानुपातिक सांसदहरुमाथि हेपाहा प्रवृत्ति नदेखाउन चेतावनी दिएका छन् । 

मंगलबारको पूर्वाधार विकास समितिको बैठकमा उनले समानुपातिक सांसदहरुलाई सरकारले हेपेको बताएका हुन् । उनले  ७० जना सत्तारुढ दलका समानुपातिक सांसदहरु  रहेको र समानुपातिक सांसदलहरुले चाहेको खण्डमा बजेट पास हुनबाट रोक्नसक्ने चेतावनी दिए ।

गिरिजाप्रसाद कोईराला, पुष्पकमल दाहाल, माधव नेपाल पनि कुनैबेलामा समानुपातिक नै रहेको उदाहरण दिँदै उनले बोल्नेहरुलाई मात्रै योजना दिने तर समानुपातिक सांसदहरु अनुशासित रुपमा बस्दा योजना नदिने गरेको उल्लेख गरे । संविधानअनुसार समानुपातिक खारेज गर्ने भए आफूहरु तयार रहेको उनले बताए । 

सांसद शाहीले सभापति लगायत, संसदीय दलका नेता लगायत पार्टीका अध्यक्षहरु ए क्लास, २५ जना मन्त्री बि क्लास, प्रत्यक्ष निर्वाचित १ सय ६५ जना सि क्लास, चर्को बोल्नसक्ने डि क्लास, समानुपातिक इ क्लस र राष्ट्रिय सभा एफ क्लासका राणा भएको उल्लेख गरे । समानुपातिक सांसदहरु अर्को अन्तरिक्षबाट नआएको भन्दै किन विभेद गरेको भन्ने उनको प्रश्न छ ।