सञ्चालनमा हुँदा पनि आइपिओकाे पाइपलाइनबाट हटाइएकाे भन्दै पुनः आवेदन दिने तयारीमा अन्नपूर्ण केबलकार


काठमाडौँ । पोखराको अन्नपूर्ण केबलकारले आइपिओका लागि पुनः निवेदन दिने भएको छ ।

धितोपत्र बोर्डले नेटवर्थ नपुगेको भन्दै आइपिओको पाइपलाइनबाट हटाएका कम्पनीमध्ये पोखराको अन्नपूर्ण केबलकार पनि थियो ।

अन्नपूर्ण केबलकारका अध्यक्ष कालु गुरुङले भने,“हामी तत्कालै फेरि निवेदन दिँदैछौँ ।”

अध्यक्ष गुरूङले सञ्चालनमा आइसकेको कम्पनीलाई पनि बोर्डले हतारहतारमा हटाएको टिप्पणी समेत गरे ।

उनले भने,“सञ्चालनमा नआएका कम्पनी हटाउनुपर्नेमा, सञ्चालनमा आएको हाम्रो कम्पनीलाई समेत हटाइएको छ । यस विषयमा हामीले सार्वजनिक लेखा समितिलाई समेत ध्यानकर्षण गराएका छौँ ।”

उनले सार्वजनिक लेखा समितिमा निर्देशन संसोधका लागि आग्रह गरिएको समेत बताए ।

सार्वजनिक लेखा समितिले ९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई आइपिओ निष्काशनको लागि अनुमति नदिन निर्देशन दिएको थियो ।

लेखासमितिको निर्देशन बमोजिम नेटवर्थ ९० भन्दा कम भएका कम्पनीको अनुमति प्रक्रिया रोकेको थियो ।

बोर्डले आइपिओ निष्काशनको लागि अनुमति कुरेर बसेका सबै कम्पनीलाई वित्तीय विवरण अध्यावधिक गराएसँगै नेटवर्थ ९० भन्दा तल रहेका १४ कम्पनीलाई पाइपलाइनबाट हटाएको थियो ।

यी कम्पनीमध्ये अन्नपूर्ण केबलकार पनि परेको थियो । यद्यपी केबलकारले आइपिओमा जान पुनः निवेदन दिने तयारी गरेको हो ।

अन्नपूर्ण केबलकार सञ्चालनमा आएको २ वर्ष भइसकेको छ । सञ्चालनमा आइसकेका कम्पनी आइपिओको पाइपलाइनमा भए नहटाउने गरि निर्देशन संसोधन गर्न आग्रह गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

उनले भने,“हामी तत्कालै आइपिओका लागि जान्छौँ । हाम्रो ठुलो समस्या होइन यसको व्यवस्थापन हुन्छ ।”

झण्डै २ अर्ब लागत रहेको केबलकार २.२ किलोमिटर लम्बाइ रहेको छ ।

अन्नपूर्णले जारी पुँजीको २० प्रतिशत हुन आउने ३१ लाख कित्ता आइपिओ जारी गर्ने गर्न लागेको हो । आइपिओ निष्कासनपछि कम्पनीले थप परियोजना लगानी गर्ने कम्पनीको योजना छ ।

पोखरा महानगररपालिका —१८ स्थिति सेतीबगरमा अन्नपूर्ण केबलकारको बटम स्टेशन छ ।