सक्षम जनशक्ति उत्पादन गर्न गुणस्तरीय शिक्षा आवश्यकः पूर्वराष्ट्रपति भण्डारी


काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शैक्षिक प्रणालीलाई युवामैत्री बनाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक रहेको बताएकी छिन् । 

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा केवल प्रमाणपत्र हासिल गर्ने माध्यममा सिमित हुन नहुने उनको भनाइ छ ।

उनले राष्ट्रको समृद्धि र प्रगति शिक्षाको स्तरसँग प्रत्यक्षरूपमा जोडिएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा व्यापक सुधारको आवश्यकता रहेको बताइन् ।

सूचना प्रविधि र यातायातको तीव्र विकासले आजको विश्वलाई सानो गाउँजस्तो बनाइदिएको उल्लेख गर्दै वैश्वीकरणका अवसरहरूको सदुपयोग तथा चुनौतिहरूको सामना गर्न सक्षम जनशक्ति उत्पादन गर्न गुणस्तरीय शिक्षाको आवश्यकता रहेको उल्लेख गरिन् ।

विद्यालय तथा शैक्षिक संस्थाहरूमा पठनपाठनमा कुनै पनि बहानामा अवरोध नआउने गरी शिक्षामा लगानी बढाउनुपर्नेमा उनको जोड छ । 

नेपाल प्राकृतिक स्रोत र साधनको धनि भएको भएपनि सदुपयोग गर्न नसक्दा समृद्धिका अवसरहरु गुमाइरहेको बताइन् ।