काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले डेरी क्षेत्रका व्यवसायीहरूलाई किसानप्रति जिम्मेवार बन्न आग्रह गरेका छन्।
मंगलबार काठमाडौँमा आयोजित डेरी उद्योग संघको १६औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री अधिकारीले डेरी व्यवसायले किसानलाई परिवारको रूपमा लिनुपर्ने बताएका हुन्।
उनले किसानलाई उचित मूल्य र समयमा भुक्तानी गर्न आग्रह गर्दै हालसम्म किसानको ४ अर्ब रुपैयाँ दूधको भुक्तानी बाँकी रहेको उल्लेख गरे। उनले डिडिसीमा मात्रै १ अर्ब रुपैयाँ बाँकी रहेको जानकारी दिए।
“यो रकम उसले तिरेन, मैले तिर्न सकिन भनेर पन्छिन मिल्दैन,” मन्त्री अधिकारीले भने, “व्यवसाय चलाउनुभयो भने भागेर होइन, समस्या समाधान गरेर अघि जानुपर्छ।”
उनले सहकारी, समुदाय र निजी क्षेत्र सबैले साझेदारीमा काम गरे मात्रै देश आत्मनिर्भर बन्न सक्ने धारणा राखे। “राज्यको तर्फबाट यो पटककाे बजेटमा कृषि क्षेत्रका धेरै कुरा आएका छन्, त्यसबाट सबैलाई फाइदा पुग्ने विश्वास छ,” मन्त्री अधिकारीले भने ।
हाल दैनिक ७ लिटर दूध बेच्ने किसानसमेत समस्यामा परिरहेको भन्दै उनले सरकार एक्लैले सबै समाधान गर्न नसक्ने बताउँदै यसका लागि सबै पक्षकाे सहकार्य आवश्यक रहेकाे उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस्