टक्सार म्यागजिनका सम्पादक आचार्य सम्मानित


काठमाडौँ । टक्सार म्यागजिनका सम्पादक किरण आचार्य ‘दशकका उत्कृष्ट कृषि पत्रकार’ का रूपमा सम्मानित भएका छन्। 

एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) का अध्यक्षसमेत रहेका आचार्यलाई कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सम्मान गरेका हुन्। 

मंगलबार डेरी उद्योग संघको १६औं वार्षिक साधारणसभामा  आचार्यलाई दुध तथा दुग्ध पदार्थका विषयमा उल्लेखनीय समाचार सम्प्रेषण गरी लामो समयदेखि यस क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो। 

वि.स.२०५९ देखि रोल्पामा रहेर पत्रकारिता सुरू गरेका आचार्य २०६४ सालदेखि राजधानीमा पत्रकारिता क्षेत्रमा छन्। आचार्य २०६८ सालदेखि एक दशक कारोबार दैनिकमा कृषि तथा आर्थिक पत्रकारिता गरेका थिए। 

जनसम्पर्क (पिआर), आमसञ्चार तथा पत्रकारिता विषयका अध्यापकसमेत रहेका कृषि सञ्चार विज्ञ आचार्य दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । उनी पछिल्लो आधा दशक यता प्रिमियम आर्थिक म्यागजिन टक्सारका सम्पादकका रूपमा पत्रकारिता क्रियाशील छन्। 

यसैगरी आचार्यसँगै किल्कमाण्डु डटकमका वरिष्ठ संवाददाता राजेश बर्मा, गोरखापत्र दैनिकका सह-सम्पादक सुरेश कुमार यादव, कान्तिपुर दैनिकका वरिष्ठ संवाददाता राजु चौधरी र न्युज २४ का आर्थिक ब्यूरो प्रमुख नवराज चालिसेलाई सम्मान गरेको छ। 

कृषि क्षेत्रमा लामो समयदेखि पत्रकारिताको माध्यमबाट पत्रकारले गरेको योगदान उच्च रहेकाले पहिलो पटक उत्कृष्ट पत्रकार छनोट गरी सम्मान गरिएको संघमा अध्यक्ष राजकुमार दाहालले बताए।