निफ्राको ‘हरित उर्जा ऋणपत्र’मा आवेदन दिने समय थपियो


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को ऋणपत्रमा आवेदन दिने समय थप गरिएको छ ।

कम्पनीले यही १८ गतेदेखि २१ गतेसम्मको लागि ५ अर्ब रुपैयाँ बराबरको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत, २०८८र८९’ नामक ऋणपत्र निष्काशन गरेको थियो । हरित उर्जा ऋणपत्र नेपालमा पहिलो पटक निफ्राले जारी गरेको हो ।

उक्त ऋणपत्रमा आवेदन दिने अन्तिम मिति जेठ २१ गते तोकिए पनि निष्काशनको पहिलो दिन जेठ १८ गते सार्वजनिक बिदा परेकाले एक दिन थप गरिएको हुँदा जेठ २२ गतेसम्म आवदेन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको ७ वर्षे अवधिको हरित उर्जा ऋणपत्र निष्कासन गरेको छ । लगानीकर्ताले ऋणपत्रमा लगानी गर्दा वार्षिक ६ प्रतिशत दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी पाउनेछन् ।

कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँबराबरको २० लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत ३ अर्बको ३० लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिनेछ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।