काठमाडाैँ । रक्षामन्त्री मानवीर राईले नागरिकता सबैलाई दिने भइसकेपछि कागजपत्र र दण्ड जरिबानामा कडाइ गर्नुपर्ने बताएका छन् ।
बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै रक्षामन्त्री राईले यस्तो बताएका हुन् । उनले भविष्यमा नागरिक सबैलाई दिनेगरी अघि बढ्दा नेपालमा विभिन्न किसिमका गतिविधि हुनसक्ने भएकाले कागजपत्रमा कडा निगरानी गर्न जरुरी रहेको बताए ।
जन्मदर्ता गर्ने कर्मचारीले फर्जी वितरण गरेको खण्डमा उसको बढुवादेखि जागिरमै समेत बन्देज गर्ने जस्ता प्रावधान राख्न सुझाव दिए। रक्षामन्त्री राईले अनलाइन प्रणालीमा जाँदै गर्दा झनै कडाईका साथ निगरानी गर्नुपर्ने बताए । अनलाइन रेकर्डमा बस्नेले कागज सुरक्षित गरेर राखेन भने त्यसलाई पनि दण्ड हुनुपर्ने बताए ।
नेपाली नागरिकता त्याग गरेर विदेशी नागरिकता लिने र नेपाल फर्किएर आइसकेपछि पुनः वंशजकै नागरिकता दिने कुरामा पनि सोच्न जरुरी रहेको बताए ।
रक्षामन्त्री राईले आमा र बुबा दुवै जना नेपाली नै भएका नागरिकका सन्तानले मात्रै वंशजको नागरिकता पाउनुपर्ने बताए । बुबा नेपाली र आमा विदेशी भए फरक खालको नागरिकता दिनु उचित हुने बताए ।
प्रतिक्रिया दिनुहोस्