स्याङ्जामा अवैध रूपमा जडिबुटी संकलन गर्ने तीन जना प्रहरीको नियन्त्रणमा


स्याङ्जा । स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ३ ताउ घडेरी चुत्रेनी जंगलमा चुत्रो जातको जडिबुटी अवैध रूपमा संकलन गरिरहेको अवस्थामा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार विशेष सूचनाको आधारमा प्रहरी चौकी अर्जुनचौपारी र गाउँपालिकाको गाउँ प्रहरीको संयुक्त टोली खटिई उक्त स्थानमा छापा मारिएको हो। छापा मार्दा करिब पाँच सय केजी चुत्रो जातको जडिबुटी सहित तीन जना फेला परेका थिए।

नियन्त्रणमा परेका व्यक्तिहरूमा पर्वत जिल्ला महाशिला गाउँपालिका वडा नम्बर ४ का ३५ वर्षीय पुनम गुरुङ, सोही ठाउँका ३२ वर्षीय देवेन्द्र गुरुङ र २५ वर्षीय अमृत भनिने जितबहादुर विक रहेका छन्।

प्रहरीले जडिबुटी बरामद गरी आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिए।