बालबालिकालाई प्लाष्टिक प्रयोग अन्त्य अभियानको नेतृत्व दिन सचिव मिश्रको आग्रह


काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद मिश्रले प्लाष्टिक प्रयोग अन्त्य अभियानको नेतृत्व बालबालिकालाई दिनुपर्नेमा जोड दिएका छन्।

विश्व वातावरण दिवस २०२५ को अवसरमा युएनडिपी नेपालले काठमाडौँमा आयोजना गरेको चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै उनले प्लाष्टिकले मानव जीवन र वातावरणमा पार्ने गम्भीर असरबारे बालबालिकामाझ सचेतना बढाउनु आवश्यक रहेको बताएका हुन् ।

सचिव मिश्रले बालबालिकाले चित्रमार्फत प्लाष्टिक प्रदुषण र विश्व तापमान वृद्धिको प्रभावलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सफल भएको उल्लेख गर्दै अभियानको नेतृत्व पनि उनीहरूलाई नै दिनुपर्ने धारणा राखे। उनले भने, “जुन कुरा म अन्तर्राष्ट्रिय पेपरमा आधा घण्टा लगाएर खोज्थेँ, यहाँहरुले आफ्नो कलामा सजिलै प्रस्तुत गर्नुभएको छ। यदि हरेक बच्चाले भन्यो कि म प्लाष्टिकमा खान्न, प्लाष्टिकको झोलामा ल्याएको तरकारी खान्न भन्न थाल्यो भने हामीले प्लाष्टिकलाई बिदा गर्न सक्छौं।”

सचिव मिश्रले वातावरणको संरक्षणका लागि व्यक्ति–व्यक्ति र घर–घरमा हस्तक्षेपकारी अभियान आवश्यक रहेको औँल्याउँदै व्यक्तिगत व्यवहार परिवर्तन बिना सामूहिक उपलब्धि सम्भव नहुने तर्क गरे ।

सोही कार्यक्रममा नेपालका लागि युएनडिपीका आवासीय प्रतिनिधि क्योको योकोसुकाले चित्रकलालाई जनचेतना फैलाउने शक्तिशाली माध्यमका रूपमा व्याख्या गरे। उनले बालबालिकाबाट आएका कलाकृतिहरूमा उनीहरूले वातावरणीय चिन्ता र जलवायु संकटलाई कलात्मक रूपमा उजागर गरेको उल्लेख गर्दै यसले कार्यमा प्रेरणा दिन सक्ने विश्वास व्यक्त गरे ।

“गत वर्ष विश्वभर ४ सय मिलियन टन प्लाष्टिक उत्पादन भयो, तर त्यसको १० प्रतिशत भन्दा कम मात्र पुनः प्रयोग गरियो। प्लाष्टिक प्रदुषण अन्त्य गर्नु अहिलेको सबैभन्दा जटिल चुनौती हो,” उनले भने । युएनडिपी नेपालले प्लाष्टिक फोहोर व्यवस्थापन, नीति परिवर्तन, डिस्पोजेबल प्लाष्टिक घटाउने तथा फोहोर संकलनमा संलग्न श्रमिकहरूको जीविकोपार्जन सुधारमा लामो समयदेखि काम गर्दै आएको पनि उनले जानकारी दिए।

प्रदर्शनीमार्फत प्लाष्टिक प्रदुषण अन्त्य गर्दै हरियाली र दिगो भविष्यको बाटोमा अग्रसर हुने सन्देश प्रवाह भएको उल्लेख गर्दै युएनडिपी आवासीय प्रतिनिधि योकोसुकाले यस अभियानमा सबै सरोकारवालासँग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए ।