बाफियाबाट बैंकर र व्यवसायी छुट्याइए आर्थिक गतिविधि नै प्रभावित बन्ने महासंघ अध्यक्ष ढकालको चेतावनी


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) को संशोधनले मुलुकको समग्र आर्थिक गतिविधिमा असर पार्ने चेतावनी दिएका छन् ।

काठमाडौँमा आयोजित ‘तेस्रो नेशनल बैंकिङ डिस्कोर्श २०२५’ को उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ढकालले संसद्मा विचाराधीन अवस्थामा रहेको बाफिया संशोधन विधेयक यथास्थितिमा पारित भए अर्थतन्त्र नै जोखिममा पर्ने धारणा राखेका हुन्।

उनले विशेषगरी बैंकर र उद्योगी छुट्याउने गरी गरिएको प्रस्तावप्रति चिन्ता व्यक्त गर्दै भने, “व्यवसायी र बैंकर छुट्याउने भन्ने जुन विषय छ, यसले अर्थतन्त्रमा समस्या पार्न सक्छ।”

ढकालका अनुसार संशोधन प्रस्तावमा प्रमोटरलाई उत्तरदायी बनाउँदै ५१ प्रतिशत शेयर संस्थापकलाई दिनुपर्ने व्यवस्था र सम्बद्ध पक्षको परिभाषा अत्यन्तै कठोर छ।”यदि १ प्रतिशतभन्दा बढी शेयर भएका लगानीकर्ताले कर्जा लिन नपाउने भन्ने व्यवस्था कार्यान्वयन गरियो भने देशका अधिकांश उद्योगधन्दा बन्द हुने जोखिम बढ्नेछ,” ढकालले भने।

उनले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न सके नेपालले लिएको आर्थिक वृद्धि दरको लक्ष्य पूरा गर्न सकिने विश्वास व्यक्त गरे ।

खनिजजन्य स्रोत उपयोगबारे टिप्पणी गर्दै अध्यक्ष ढकालले वातावरणलाई असर नपर्ने गरी नेपालका खनिज पदार्थको आन्तरिक प्रयोग र निर्यातलाई प्रवद्र्धन गर्न सकिने बजेट व्यवस्था सकारात्मक रहेको बताए ।