पर्यटक पथ प्रदर्शकहरू नेपालको पर्यटन विकासका स्तम्भ हुन्ः मन्त्री पाण्डे


काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटक पथ प्रदर्शकहरू नेपालको पर्यटन क्षेत्रको विकासका स्तम्भ भएको बताएका छन् ।

बिहीवार आयोजित नवौं राष्ट्रिय टुरिष्ट गाइड सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले पर्यटक पथ प्रदर्शकहरुले पर्यटकलाईमात्र नभएर देशकै पर्यटन क्षेत्रको बाटो देखाइरहेको बताएका हुन्।

उनले देशभक्ति भावना र व्यावसायिकतालाई सुदृढ बनाएर निष्ठाका साथ यो क्षेत्रमा लाग्न आग्रह गरे । मन्त्री पाण्डेले पर्यटक पथ प्रदर्शकहरुका तत्काल समाधान गर्नुपर्ने समस्या समाधान गर्ने र पछि समाधान गर्नुपर्ने मुद्दाहरू नीति, कानूनबाट समाधान हुने विश्वास व्यक्त गरे।

उनले काठमाडौँ केन्द्रित पर्यटक पथ प्रदर्शकहरुको सञ्जाल देशव्यापी विस्तारका विषयमा सम्मेलनमा छलफल हुने विश्वास व्यक्त गर्दै आउने समस्या समाधानका लागिसरकार साथमा रहेको बताए ।

उनले पर्यटक पथ प्रदर्शकहरूले राम्रो बोल्दा दुनियाँले राम्रो भन्ने र एक पटक आएको पर्यटक पटकपटक आउने बताए ।