पूर्वप्रधानमन्त्री नेपाल सहित ९३ जना विरुद्ध १८ करोड बढी बिगो दावी, भ्रष्टाचारको मुद्दा दायर


काठमाडौँ । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको नाममा काभ्रेपलाञ्चोक जिल्लाको साँगा, महेन्द्रज्योतिमा हदबन्दीभन्दा बढी जग्गा खरिद गरिएको प्रकरणमा पूर्वप्रधानमन्त्री तथा संघीय सांसद माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ।

विशेष अदालत काठमाडौँमा दायर उक्त मुद्दामा ९३ जना प्रतिवादी विरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुझाएको आरोपपत्रअनुसार पतञ्जली योगपीठ नामक मुनाफा वितरण नगर्ने प्रकृतिको कम्पनीमार्फत जग्गा खरिद तथा बिक्री गर्दा भूमि सम्बन्धी ऐन, २०२१ को दफा ७, ८, १० र ११ को उल्लंघन गर्दै हदबन्दीभन्दा बढी जग्गा कम्पनीको नाममा पारिएको छ।

सो क्रममा कम मूल्यमा किनिएको जग्गा बढी मूल्यमा बिक्री गरी कम्पनीको उद्देश्यविपरीत बदनियतपूर्वक कारोबार गरिएको उल्लेख छ।

आयोगले सार्वजनिक सम्पत्तिमा हानि पुर्‍याउने नियतले गरिएको उक्त कार्यमा पतञ्जली योगपीठका संस्थापक सदस्य शालीग्राम सिंहले मुख्य भूमिका खेलेको र उनले सरकारी पदाधिकारीहरू, बैंक कर्मचारी, गुठी संस्थान, भूमि सुधार तथा व्यवस्था मन्त्रालयका अधिकारीहरू, मालपोत कार्यालय, मन्त्रालयका सचिवहरूदेखि मन्त्रिपरिषद् र प्रधानमन्त्री तहसम्मका पदाधिकारीसँग मिलेमतो गरी गैरकानूनी निर्णयहरू गराएको उल्लेख गरेको छ।

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालमाथि प्रधानमन्त्री पदमा रहँदा आफ्नो ओहदाको दुरुपयोग गर्दै सार्वजनिक सम्पत्तिसम्बन्धी निर्णय प्रक्रियामा प्रभाव पारेर अन्य प्रतिवादीलाई लाभ पुग्ने गरी कार्य गरेको आरोप छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार दायर उक्त मुद्दामा राष्ट्रसेवकहरूले आफ्नो पदको दुरुपयोग गरी बदनियतपूर्वक १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बराबरको हानी पुर्‍याएको उल्लेख गरिएको छ। आयोगले सबै ९३ जनाविरुद्ध सो बिगो असुल गर्न विशेष अदालतसमक्ष मागदाबी गरेको छ।

यो प्रकरण नेपालमा पूर्वप्रधानमन्त्रीविरुद्ध दायर गरिएको दुर्लभ र गम्भीर प्रकृतिको भ्रष्टाचार मुद्दाका रूपमा लिइएको छ ।