शुद्ध मह उत्पादनमा जोड दिनु, आयातित महसँग डराउनुपर्ने अवस्था छैनः मन्त्री अधिकारी


काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली शुद्ध महको गुणस्तर सुनिश्चित भएमा विदेशी आयातित महले बजार खोस्न नसक्ने बताएका छन्।

विहिबार राजधानीको भृकुटीमण्डपमा आयोजित छैठौं मह मेला उद्घाटन गर्दै मन्त्री अधिकारीले खुला बजार व्यवस्थामा प्रतिस्पर्धा स्वाभाविक रहेको भन्दै नेपाली महको गुणस्तरलाई पहिलो प्राथमिकता दिन आवश्यक रहेको बताएका हुन्।

“हामी शुद्ध, गुणस्तरीय र प्रतिस्पर्धी उत्पादनमा केन्द्रित भए आयातित महको असर पर्नेछैन,” मन्त्री अधिकारीले भने,”सरकार मौरीपालन र मह उत्पादन प्रवर्धनका लागि आवश्यक सबै सहयोग गर्न तत्पर छ।”

उनले बैक तथा वित्तीय संस्थाहरूलाई मौरीपालक किसानहरूमा लगानी गर्न आह्वान गर्दै चरन क्षेत्रको अभाव समाधान गर्न मन्त्रालयले पहल गरिरहेको जानकारी दिए।

मन्त्री अधिकारीले स्वास्थ्यका हिसाबले पनि महको सेवन लाभदायक भएकाले नेपाली महको प्रयोग बढाउन सबैमा आग्रह गरे।”आफ्नै देशको उत्पादनलाई प्राथमिकता दिऔं, यसले किसान र अर्थतन्त्र दुबैलाई फाइदा पुर्‍याउँछ,” उनले भने।

मह उत्पादकहरूसँग संवाद गर्दै मन्त्री अधिकारीले उत्पादन वृद्धि तर्फ ध्यान दिन सुझाव दिएका थिए। उनले बजार समस्याहरू क्रमशः समाधान हुँदै गइरहेको उल्लेख गर्दै सरकारले बजार पहुँच विस्तारमा पनि काम गरिरहेको बताए।

मह व्यवसायीहरूका अनुसार हाल नेपालमा वार्षिक पाँच हजार मेट्रिक टनभन्दा बढी मह उत्पादन हुँदै आएको छ। हाल सरकारले मह आयातमा रोक लगाएपछि स्वदेशी उत्पादन तथा खपत दुबै बढेका छन्।

मौरीपालक किसानहरू र मह उत्पादकहरूले विगतको तुलनामा हाल सरकारबाट राम्रो सहयोग पाउन थालेको धारणा राखेका छन्।