काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वायु प्रदूषण मापन यन्त्रहरूले संकलन गरेका तथ्याङ्क तत्कालै हेर्न सकिने ‘वायु गुणस्तर निगरानी ड्यासबोर्ड’ सार्वजनिक गरेको छ। विश्व वातावरण दिवसको अवसर पारेर बिहीबार उक्त ड्यासबोर्ड सार्वजनिक गरिएको हो।
महानगरभित्रका १८ स्थानमा जडान गरिएका वायु प्रदूषण मापन यन्त्रहरूले पिएम २.५ तथा वायु गुणस्तर सूचकांकको विवरण दिन्छन्। यी विवरणहरू ड्यासबोर्डमा वास्तविक समयमा हेर्न सकिने व्यवस्था गरिएको छ। नागरिकहरूले काठमाडौं महानगरपालिकाको वेबसाइटमा गएर ‘वायु गुणस्तर निगरानी’ आइकन क्लिक गरेपछि ड्यासबोर्डमा पुग्न सकिन्छ।
ड्यासबोर्डको गृहपृष्ठमा स्थानको नाम, वायु गुणस्तर सूचकांक र नक्सा राखिएको छ। वायुको अवस्थालाई देखाउन ६ प्रकारका रङ्गको प्रयोग गरिएको छ – हरियो (राम्रो), पहेँलो (मध्यम), सुन्तला (संवेदनशील व्यक्तिका लागि जोखिमपूर्ण), रातो (सबैका लागि अस्वस्थ्य), बैजनी (गम्भीर स्वास्थ्य असर) र गाढा खैरो (उच्च जोखिमपूर्ण)।
वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईका अनुसार प्रणालीले वास्तविक समयको सूचना दिने भएकाले नागरिकहरूले अनुकुल जीवनशैली अपनाउन सहयोग मिल्नेछ।
हेल्दी सिटि नेटवर्क परियोजनाका प्रमुख इञ्जिनियर सञ्जिब पाण्डेका अनुसार, ड्यासबोर्डमा ७ वटा खण्ड समावेश छन्। यसमा वायु गुणस्तरका शैक्षिक सामग्री, सावधानीसम्बन्धी सूचना बोर्ड, जनचेतनामूलक भिडियो सन्देश, सवारी साधन प्रदूषण परीक्षणको प्रगति विवरण लगायत राखिएको छ। साथै, प्रत्येक घण्टाको पिएम २.५ विवरण तथा अघिल्लो ७ दिनको तथ्यांक हेर्न सकिने सुविधा पनि छ।
वर्तमानमा यस्ता मापन यन्त्रहरू छत्रपाटी, लैनचौर, कलंकी, बालाजु, प्रसूति अस्पताल, थापाथली, नयाँ बसपार्क, बौद्ध, बानेश्वर, टेकु, चावहिल, जडीबुटी, नक्साल, ओमबहाल लगायतका स्थानमा जडान गरिएको छ। सौर्य ऊर्जाबाट चल्ने क्ल्यारिटी नोड–एस सेन्सरले तथ्यांक संकलन गर्ने र ती तथ्यांक तुरुन्तै ड्यासबोर्डमा देखिने व्यवस्था गरिएको छ।
स्वस्थ्य सहर परियोजना विश्व स्वास्थ्य संगठन र ब्लुमवर्ग फिलान्थ्रोपिजको साझेदारीमा सञ्चालित ७४ वटा सहरहरूको सञ्जाल हो। परियोजना गैर–संक्रामक रोग तथा चोटपटकबाट जोगाउने उद्देश्यले सञ्चालन गरिएको हो।
पिएम २.५ भनेको वायुमण्डलमा पाइने सूक्ष्म कणहरू हुन्, जसले फोक्सो तथा रक्त प्रणालीमा असर पार्न सक्ने भएकाले दीर्घरोगका कारण बन्न सक्छन्। विश्व स्वास्थ्य संगठनले यसको सुरक्षित सीमा वार्षिक औसतमा ५ माइक्रोग्राम प्रति घनमिटर तोकेको छ।
प्रतिक्रिया दिनुहोस्