जे-जे गर्ने हो गरौँ तर नागरिकता विधेयक चाँडो पास गरौँः गृहमन्त्री लेखक


काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली सम्बन्धी विधेयक ड्राफ्ट भइसकेको बताएका छन् । 

शुक्रवार सिंहदरबारकमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नागरिकताको विषयलाई सम्बोधन गर्नका लागि बेग्लै विधेयक आवश्यक हुने बताएका हुन् ।

गैरआवासीय नेपाली नागरिकता दिँदा संविधानको भावनाअनुसार राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार सहितको नागिरकता दिइने बताए।

विभिन्न मन्त्रालयहरूमा राय, परामर्शहरूका लागि पनि विधेकय गइसकेको र सरकारले चाँडै मन्त्रीपरिषद्को सहमतिका साथ सदनमा लैजाने बताए । उनले नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ छिटो टुंग्याउन आग्रह गरे । नागरिकता विधेयक टुंगिएसँगै विभिन्न पीडामा रहेका नागरिकहरूको समस्या समाधान हुने बताए । 

गृहमन्त्री लेखकले अध्यागमन सम्बन्धी ऐनलाई संशोधन गरी नयाँ ऐन बनाउने गरी सरकार अघि बढिसकेको बताए । नेपाली आमाबाट जन्म भइ नेपालमा नै स्थायी बसोवास गरेको बाबुको ठेगाना नभएको वा बेपत्ता भएको अथवा सहयोग नगरेको मानिसलाई पनि जिल्लाबाटै नागरिकता दिने व्यवस्था गरिने बताए ।