आइतवारको संसद बैठक सहज रूपमा सञ्चालन हुने सभामुख घिमिरेको संकेत


काठमाडाैँ । सभामुख देवराज घिमिरेले आइतवारदेखि संसद सञ्चालन हुने संकेत गरेका छन् । 

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सभामुख घिमिरेले आइतवारको संसद बैठक सहज रुपमा सञ्चालन हुने विश्वास व्यक्त गरेका हुन् ।

सत्तापक्ष र प्रतिपक्षबिच संवाद बढेसँगै संसद गतिशील बनाउने सहमति नजिक पुगेको सभामुखको भनाइ छ । उनले सत्तापक्ष र प्रतिपक्षी दलका शिर्ष नेताहरुबीचको छलफलपछि संसद अवरुद्ध अवस्थाको अन्त्य हुने बताए ।

उनले प्रतिगामी शक्तिहरू सक्रिय हुन थालेको संकेत दिँदै यस्तो संवेदनशील अवस्थामा सत्ता र प्रतिपक्षले मिलेर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि बताए । व्यवस्थाकै विरुद्धमा जाने दलहरुले संसद गतिरोधका कारण खुच्चिङ भनिरहेको उल्लेख गर्दै उनले संसदीय दलभित्रका नेताहरूले यसबारे सोच्न जरुरी रहेको बताए । 

प्रतिनिधि सभामा देखिएको गतिरोध अन्त्य गर्न सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल हुने बताइएको छ ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भएको भिजिट भिसाको बद्मासीमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र आवश्यक छानविन हुनुपर्ने मागबाट पछि हट्न नखोजेपछि शिर्ष तहमा छलफल हुन लागेको हो ।