काठमाडाैँ । तनहुँको पर्यटकीय स्थल बन्दीपुरको गढीदेव क्षेत्रमा नेपालको सबैभन्दा अग्लो आदियोगी शिव जीको विराट प्रतिमा निर्माण हुने भएको छ ।
झण्डै ४० करोड रुपैयाँ लागतमा आदीयोगी पार्कसहितको १०८ फिट अग्लाे विराट प्रतिमा निर्माण हुन लागेको हो ।
आदीयोगी प्रज्ञा धामले सुसंस्कृत ज्ञानवद्र्धक क्रियाकलापको माध्यमबाट आध्यात्मिक सचेतनाद्वारा सामाजिक उद्यमशीलताको प्रवर्धन र विकास गर्न भन्दै पार्कसहित प्रतिमा निर्माण गर्न लागेको हो ।
बन्दीपुर केबलकारसँगै रहेको बन्दीपुर गढीकाे शिरमा आदीयोगीको प्रतिमा रहने छ । प्रतिमाको गर्भभित्र शास्त्रीय मान्यता अनुरुपको विशेष गर्भगृह रहनेछ ।
गर्भगृहसँगै ९ फिट अग्लो १३ फिट लम्बाइको कामुधेनु गाई र गाईले ५ फिट अग्लो ज्योर्तिलिङ्गमा आफनो थुनबाट प्रत्यक्ष दुध चढाईरहनेछ धामले जनाएको छ ।
विशेष गर्भगृह सामुन्ने आकर्षक नन्दी रहनेछ । सब भन्दा बाहिरी घेरामा १०८ वटा आर्कषक सहर्षधारा रहने छन्, ति धाराबाट १०८ वटा आकर्षक शिवलिङ्गमा जल अर्पीत भइरहनेछ । त्यो जल अन्य धाराहरुबाट जमिनमा झर्ने व्यवस्था गर्नेगरी डिजाइन गरिएको छ ।
जलधाराबाट पवित्र स्नान गर्न मिल्नेछ । मुख्य ज्योर्तिलिङ्गमा प्रवेश गर्ने ४ ढोकाहरु रहने छन् । १ मुख्य पुजारी रहनेछन् र अन्य साहायक पुजारी रहनेछन् ।
विशाल आदीयोगी प्रतिमा बाहिर वरीपरी योग ध्यान शिविर रहनेछ भने राती आकर्षक लाइटिङ्ग सो मार्फत शिव जि को वास्तविक लिला प्रदर्शन गर्न मिल्ने गरि अत्याधुनिक लाइटिङ प्रणाली समेत जडान गरिनेछ ।
यस परियोजनाले बन्दीपुरलाई धार्मिक पर्यटनको उपयुक्त गन्तव्य बनाउन र साक्षात खड्गरुपी खड्गदेवि मन्दिरको महिमाको प्रचार प्रसारमा टेवा संस्थाले जनाएको छ ।
पार्क र प्रतिमा निर्माणमा आरकेडी समुह, बन्दिपुर समुह र बन्दिपुर स्काइवाक एन्ड रिक्रियसन प्र.लि.ले प्रारम्भिक रुपमा आदीयोगी प्रज्ञा धामको लागि ४० करोड रुपैया बराबरको पुर्वाधारहरु निर्माण गर्न पाँच वर्षमा फिर्ता पाउने गरी सापटी लगानी गर्ने सहमति भएको आरकेडी–बन्दीपुर समूहका अध्यक्ष रामचन्द्र शर्माले बताए ।
आगामी साढे दुइवर्ष भित्र आदीयोगी पार्क सम्पन्न गरी भक्तजन एवं पर्यटकहरूको लागी खुल्ला गरिने आदीयोगी प्रज्ञाधामले जनाएको छ ।
मूर्ति निर्माण,फाउन्डेसन निर्माण जग्गा प्राप्ती लगायतका सबै कार्यहरू सम्पन्न भएको धामका सदस्य पोष्ट बहादुर खड्काले जानकारी दिए ।
आदीयोगी पार्क जान पृथ्वी राजमार्ग केबलकार चोकदेखि ७ मिनेटको केबलकार यात्रा गरी पुग्न सकिने छ । सवारी साधनबाट ५५ मिनेटको उकाली यात्रा गरेपछी पुग्न सकिने छ ।
प्रतिक्रिया दिनुहोस्